Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । फेडेरेशन अफ कम्युटर एसोसिएशन नेपाल (क्यान महासंघ) की अध्यक्ष सुनैना घिमिरे पाण्डेले पदबाट राजीनामा दिएकी छिन् ।
महासंघको इतिहासमै पहिलो महिला अध्यक्ष बन्न सफल भएकी घिमिरेले कार्यकाल सकिनु करिब आठ महिनाअघि नै राजीनामा दिएकी हुन् । महासंघको विद्यमान कार्यसमितिको कार्यकाल आगामी पुससम्म छ ।
महासंघको अध्यक्षमा ऐतिहासिक कीर्तिमान बनाएकी उनले व्यक्तिगत कारण देखाउँदै केही दिनअघि राजीनामा दिएकी थिइन् । निर्वाचित भएर करिब १७ महिना महासंघको नेतृत्व सम्हालेकी घिमिरे हालै सम्पन्न नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) मा वस्तुगत महासंघतर्फ क्यान महासंघको प्रतिनिधित्व गर्दै सर्वाधिक मतका साथ केन्द्रीय कार्यकारिणी समिति सदस्य निर्वाचित भएकी थिइन् ।
उनको राजीनामा स्वीकृतसँगै महासंघले वरिष्ठ उपाध्यक्ष चिरञ्जीवी अधिकारीलाई कार्यबाहक अध्यक्षको जिम्मेवारी दिएको छ । महासंघले आफ्नो वेबसाइटमा समेत त्यसबारे अपडेट गरेको देखिन्छ ।
को हुन् अधिकारी ?
कार्यबाहक अध्यक्ष अधिकारी सूचना प्रविधि क्षेत्रका अगुवा, अध्यापक तथा साइबर सुरक्षा अभियन्ता हुन् । नेपालको सूचना प्रविधि क्षेत्रले क्लाउड सेक्युरिटी र भल्नराबिलिटी (सुरक्षा संवेदनशीलता) जस्ता चुनौतीको सामना गरिरहेको परिस्थितिमा उनको नेतृत्व निकै प्रभावकारी हुने अपेक्षा गरिएको छ । राष्ट्रिय डिजिटल नीति र धरातलीय कार्यान्वयनबीचको ठूलो खाडल पुर्न प्राविधिक क्षेत्रले अधिकारीको परिपक्व नेतृत्वप्रति ठूलो भरोसा राखेको सो क्षेत्रका जानकारहरू बताउँछन् ।
२१ वर्ष भन्दा बढी समयदेखिको निरन्तरता र क्यान महासंघको सांगठनिक संरचनामा पुर्याएको महत्वपूर्ण योगदानको उपलब्धिस्वरुप अधिकारी आज क्यान महासंघको नेतृत्व तहमा पुग्न सफल भएका हुन् । नेपाली प्रविधि उद्योगका आन्तरिक र संरचनागत समस्याहरूलाई नजिकबाट बुझेका उनले स्थानीय, प्रादेशिक र राष्ट्रिय समितिहरूमा रही महत्त्वपूर्ण जिम्मेवारीहरू कुशलतापूर्वक निर्वाह गर्दै आएका छन् ।
क्यान महासंघको प्रशासनिक जिम्मेवारीबाहेक अधिकारीले निजी र गैर–नाफामूलक दुवै क्षेत्रको सुरक्षा सुदृढीकरणमा नेतृत्वदायी भूमिका निर्वाह गर्दै आएका छन् । सुरक्षित, समावेशी र डिजिटल रूपमा उत्थानशील नेपाल निर्माणमा पुर्याएको योगदानको कदर गर्दै अधिकारी विभिन्न प्रतिष्ठित राष्ट्रिय अवार्डहरूबाट सम्मानित समेत भइसकेका छन्।
साथै, उनले नेपालका प्रतिष्ठित प्राविधिक कलेजहरू जस्तै सफ्टवारिका कलेज अफ आईटी एण्ड ई–कमर्स र टेक्सास कलेज अफ म्यानेजमेन्ट एण्ड आईटीमा विशिष्ट प्राध्यापकको रूपमा अध्यापन गराउँदै देशको आगामी पुस्ताका कम्प्युटर इन्जिनीयर र विश्लेषकहरूलाई प्रत्यक्ष मार्गदर्शन गरिरहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij