Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । टुँडिखेललाई हरियाली र व्यवस्थित सार्वजनिक स्थलका रूपमा विकास गर्ने काम धमाधम सुरु गरिएको छ । काठमाडौँ महानगरपालिकाले सैनिक मञ्चको दक्षिणतर्फ रहेको करिब ६१ हजार २ सय ६३ वर्गमिटर क्षेत्रमा घाँसे मैदान निर्माण तथा हरियाली प्रवर्द्धन कार्यक्रम अघि बढाएको हो ।
महानगरका अनुसार यस क्षेत्रमा जमिन सम्याएर तीन इन्च मलिलो माटो राखी ‘बरमुढा ग्रास’ दुबो रोपिनेछ। परियोजनाको लागत अनुमान करिब ४ करोड २५ लाख रुपैयाँ रहेको छ भने २ करोड ७० लाख रुपैयाँमा ठेक्का सम्झौता गरिएको जनाइएको छ । निर्माण कार्य २०८३ पुस मसान्तसम्म सम्पन्न गर्ने लक्ष्य राखिएको छ ।
हरियाली कार्यक्रमअन्तर्गत टुँडिखेलका चार कुनामा बोरिङ निर्माण, पानी व्यवस्थापन तथा वर्षा पानी पुनर्भरणका लागि ‘वाटर रिचार्ज पिट’ समेत निर्माण गरिनेछ । महानगरले टुँडिखेल क्षेत्रमा कुनै स्थायी संरचना निर्माण नगर्ने स्पष्ट पार्दै यसलाई खुला र सार्वजनिक उपयोगकै लागि व्यवस्थित बनाइने जनाएको छ ।
महानगरपालिकाका अनुसार धुलो र हिलोको समस्या कम गर्दै सर्वसाधारणलाई आराम, व्यायाम, खेलकुद तथा सार्वजनिक कार्यक्रमका लागि सहज वातावरण उपलब्ध गराउने उद्देश्यले कार्यक्रम सुरु गरिएको हो । निर्माण अवधिमा केही गतिविधिमा अस्थायी असर पर्न सक्ने भए पनि वैकल्पिक रूपमा खुलामञ्च प्रयोग गर्न सकिने जनाइएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij