Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । कोल पाल्मर र फिल फोडेनलाई बाहिर राख्दै थोमस टुकेलले इङ्ग्ल्यान्डको विश्वकप टोली घोषणा गरेका छन्।
रियल मड्रिडका ट्रेन्ट अलेक्जेन्डर–आर्नोल्ड पनि शुक्रबार घोषणा गरिएको टोलीमा परेनन् भने साउदी क्लब अल–अहलीका स्ट्राइकर इभान टोनीलाई अप्रत्याशित रूपमा टोलीमा समेटिएको छ।
चेल्सीमा रहँदा च्याम्पियन्स लिग जिताएका थोमस टुकेललाई इङ्ग्ल्यान्डको ६० वर्ष लामो ठूलो अन्तर्राष्ट्रिय उपाधि जित्ने प्रतीक्षा अन्त्य गर्ने जिम्मेवारीसहित नियुक्त गरिएको हो।
पूर्व पेरिस सेन्ट–जर्मेन (पिएसजी) र बायर्न म्युनिखका प्रशिक्षक टुकेलले केही साहसी निर्णय गरेका छन्। आगामी साताहरूमा ‘थ्री लायन्स’ उपाधिबाट चुक्यो भने ती निर्णयको कडा समीक्षा हुने निश्चित छ।
फिल फोडेन र कोल पाल्मरले युरो २०२४ मा इङ्ग्ल्यान्डलाई फाइनलसम्म पुर्याउन महत्वपूर्ण भूमिका खेलेका थिए।
तर म्यानचेस्टर सिटीका फोडेन र चेल्सीका प्लेमेकर पाल्मरले क्लबस्तरमा खराब सिजन बिताएकाले टोलीबाट बाहिरिनुपरेको हो।
नटिङ्घम फरेस्टका मिडफिल्डर मोर्गन गिब्स–ह्वाइट र लिड्स युनाइटेडका स्ट्राइकर डोमिनिक काल्भर्ट–लुइनलाई पनि टोलीमा राखिएको छैन, जबकि उनीहरू यस सिजन प्रिमियर लिगमा सबैभन्दा धेरै गोल गर्ने इंग्लिस खेलाडीमध्ये परेका थिए।
अनुभवी ब्रेन्टफोर्ड मिडफिल्डर तथा पूर्व लिभरपुल कप्तान जोर्डन हेन्डरसनलाई भने क्रिस्टल प्यालेसका एडम व्हार्टनको स्थानमा टोलीमा समेटिएको छ।
टुकेलले विश्वकपका लागि अमेरिका जाने टोलीमा नपर्ने जानकारी खेलाडीलाई दिनु निकै कठिन रहेको बताए।
उनले भने, “यो कठिन थियो, कतिपय अवस्थामा निकै पीडादायी पनि। फोन संवादका क्रममा मैले उनीहरूको भावनासमेत महसुस गरें।”
उनले थपे, “क्याम्पमा हामीसँग रहेका सबै खेलाडीलाई मैले कम्तीमा एकपटक फोन गरें। उनीहरूले गरेको योगदानप्रति सम्मान र प्रशंसा देखाउन चाहन्थें।”
टुकेलले आफू अमेरिका जाने विमान चढ्न र “प्रशिक्षकको भूमिकामा पूर्ण रूपमा उत्रिन” उत्साहित रहेको पनि बताए।
उनले भने, “अहिले म राहत, उत्साह र तयारीको मिश्रित अवस्थाम छु। खेलाडीहरूको उत्साह देखेपछि र निर्णय अन्तिम भएपछि स्पष्टता आउँछ र नयाँ ऊर्जा प्राप्त हुन्छ।”
म्यानचेस्टर युनाइटेडका डिफेन्डर ह्यारी म्याग्वायरले बिहीबार आफू टोलीमा नपरेकोमा स्तब्ध भएको बताएका थिए।
३३ वर्षीय म्याग्वायरले सामाजिक सञ्जालमा लेखेका छन्, “मैले बिताएको सिजनका आधारमा यो समरमा देशका लागि महत्वपूर्ण भूमिका खेल्न सक्छु भन्नेमा विश्वस्त थिएँ।”
उनले थपे, “यो निर्णयले मलाई स्तब्ध र अत्यन्त निराश बनाएको छ।”
म्याग्वायरका म्यानचेस्टर युनाइटेडकै सहकर्मी लुक श पनि टोलीमा परेका छैनन्।
टुकेलले चोटका कारण प्रभावित सिजनका बाबजुद जोन स्टोन्सलाई टोलीमा राख्ने जोखिम उठाएका छन्। उनी यस सिजन म्यानचेस्टर सिटीमा धेरै खेल्न सकेका थिएनन्।
इभान टोनीले दुई वर्षअघि युरो प्रतियोगितामा बेन्चबाट आएर प्रभाव छोडेका थिए। तर सन् २०२४ मा साउदी अरब गएपछि उनले अन्तर्राष्ट्रिय फुटबलमा जम्मा दुई मिनेट मात्र खेलेका छन्।
इङ्ग्ल्यान्डले जुन १७ मा डलासमा क्रोएसियाविरुद्ध खेल्दै विश्वकप यात्रा सुरु गर्नेछ। त्यसपछि जुन २३ मा घाना र चार दिनपछि पानामासँग प्रतिस्पर्धा गर्नेछ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij