Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रिमियर लिग क्लब चेल्सीको मुख्य प्रशिक्षकमा जाभी अलोन्सो नियुक्त भएका छन्।
४४ वर्षीय अलोन्सोले आगामी १ जुलाई २०२६ देखि जिम्मेवारी सुरु गर्नेछन् भने उनले स्ट्यामफोर्ड ब्रिजसँग चार वर्षको दीर्घकालीन सम्झौता गरेका छन्।
पूर्व प्रशिक्षक लियाम रोजेनियरलाई बर्खास्त गरेपछि अलोन्सोलाई भित्र्याइएको हो।
रोजेनियर आफ्नो पदमा आएको केबल १०६ दिनमै बाहिरिए। त्यसपछि क्यालम म्याकफर्लेनले अन्तरिम प्रशिक्षकको भूमिका निभाउँदै आएका थिए।
चेल्सी यतिबेला युरोपेली प्रतिस्पर्धाको दौडमा छ र यो नियुक्ति क्लबको भविष्यका लागि अत्यन्त महत्त्वपूर्ण मानिएको छ।
आफ्नो नियुक्तिबारे प्रतिक्रिया दिँदै अलोन्सोले भने ‘चेल्सी विश्व फुटबलका सबैभन्दा ठूला क्लबमध्ये एक हो र यस महान् क्लबको प्रशिक्षक बन्न पाउँदा मलाई गर्व महसुस भएको छ। स्वामित्व समूह र खेलकुद नेतृत्वसँगको कुराकानीबाट स्पष्ट भयो कि हाम्रो महत्त्वाकाङ्क्षा एउटै छ। हामी एउटा यस्तो टिम बनाउन चाहन्छौं जसले निरन्तर उच्च स्तरमा प्रतिस्पर्धा गर्न र उपाधि जित्न सकोस्।’
एक खेलाडीको रूपमा अलोन्सोले रियल सोसिडाड, लिभरपुल, रियल मड्रिड र बायर्न म्युनिखका लागि खेले। उनले स्पेनको राष्ट्रिय टीमका लागि ११४ अन्तर्राष्ट्रिय खेल खेल्दै २०१० फिफा विश्वकप जित्न महत्त्वपूर्ण भूमिका खेलेका थिए।
प्रशिक्षकको रूपमा उनले २०२२ मा बायर लेभरकुसेनको जिम्मेवारी सम्हाले र क्लबको इतिहासमा पहिलो पटक बुन्डेस्लिगा उपाधि दिलाए।
त्यसका साथै उनले डीएफबी–पोकल र डीएफएल–सुपरकप पनि जिते। त्यसपछि रियल मड्रिडको प्रशिक्षक पद सम्हाले तापनि यस वर्षको जनवरीमा मात्र आठ महिनापछि उनलाई बर्खास्त गरियो।
चेल्सीले आफ्नो आधिकारिक वेबसाइटमार्फत गरेको घोषणामा भनिएको छ, ‘यो नियुक्ति क्लबको उनको व्यापक कोचिङ अनुभव, नेतृत्व क्षमता र इमानदारितामाथिको विश्वासको प्रतिबिम्ब हो।’
अलोन्सोको आगमनले क्लबका समर्थकहरूमा नयाँ उत्साह जगाएको छ। चेल्सीले अन्तिम पटक २०१७ मा प्रिमियर लिग उपाधि जितेको थियो भने २०२१ मा च्याम्पियन्स लिगको ट्रफी उचालेको थियो।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij