Logo

Jun 05 2026 | २०८३, जेठ २२ गते

Jun 05 2026 | २०८३, जेठ २२ गते

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

भोजपुरमा बाढीको क्षति : पुल बग्दा सडक अवरुद्ध, साना सवारी मात्र सञ्चालनमा

  • काठमाडौं । भारी वर्षासँगै आएको बाढीले पुल बगाउँदा अवरुद्ध बनेको भोजपुर-चखेवा सडक पुनः एकतर्फी सञ्चालनमा आएको छ।
     
    भोजपुर नगरपालिका-५ बोखिमस्थित चाल्से खोल्सामा गए राति एक्कासि आएको बाढीले पुल बगाएपछि यातायात सेवा पूर्ण रूपमा ठप्प बनेको थियो ।
     
    स्थानीय तहको पहलमा वैकल्पिक ट्रयाक खोलिएपछि हाल साना सवारीसाधन सञ्चालनमा आएका छन् । भोजपुर नगरपालिका-५ का वडाध्यक्ष फविन्द्र प्रधानका अनुसार तत्कालका लागि आपत्कालीन अवस्थालाई मध्यनजर गर्दै एकतर्फी रूपमा सवारी आवागमन सञ्चालन गरिएको हो । अवरुद्ध बनेको करिब २३ घण्टापछि यातायात सञ्चालनमा आएको हो ।
     
    उनले भने, ‘बाढीले पुल बगाएपछि सडक पूर्ण रूपमा अवरुद्ध बनेको थियो । अहिले नयाँ ट्रयाक खोलेर साना सवारीसाधन सञ्चालनमा ल्याएका छौँ । ठूला सवारीसाधन सञ्चालनका लागि भने अझै केही समय लाग्ने छ ।’ यो सडकखण्ड स्थानीय जनजीवनसँग प्रत्यक्ष रूपमा जोडिएको महत्वपूर्ण मार्ग हो ।
     
    दैनिक उपभोग्य सामग्री ढुवानी, कृषिजन्य उत्पादन बजारसम्म पुर्‍याउने, बिरामी ओसारपसार तथा विद्यार्थीको आवतजावतका लागि यही सडक मुख्य आधार बनेको छ । सडक अवरुद्ध हुँदा केही समय स्थानीयले सास्ती खेप्नुपरेको थियो ।
     
    विशेष गरी बिरामीलाई स्वास्थ्य संस्था पुर्‍याउन, विद्यालय जाने विद्यार्थी तथा अत्यावश्यक सामग्री ढुवानीमा समस्या उत्पन्न भएको थियो । हाल एकतर्फी सञ्चालन सुरु भएसँगै जनजीवन क्रमशः सहज बन्दै गएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij