Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । आम जनता पार्टी (आजपा)का अध्यक्ष एवं पूर्वमन्त्री प्रभु साहले नेपालको गौरव, राष्ट्रिय विभूति माता सीताको जन्मोत्सवलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने माग सरकारसँग गरेका छन् ।
आजपा निकटको आम महिला मोर्चा काठमाडौँ उपत्यका विशेष कमिटीद्वारा आज (शनिवार) कोटेश्वरमा आयोजित जानकी जयन्ती समारोहलाई सम्बोधन गर्दै उनले सरकारले जानकी जयन्तीलाई क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्ने माग गरेका हुन् ।
‘हामी राम नवमी मनाउँछौँ, कृष्ण अष्टमी मनाउँछौँ तर हाम्रै देश नेपालको गौरव, राष्ट्रिय विभूति माता सीताको जन्मोत्सवलाई बिर्सिन्छौँ । हामीले सीता जन्मोत्सवलाई राष्ट्रिय गौरवको रूपमा भव्य तरिकाले मनाउनुपर्छ,’ आजपा अध्यक्ष साहले भने, ‘सरकारसँग मेरो विशेष आग्रह छ, सीता जयन्तीलाई सरकारी क्यालेन्डरमा समावेश गरी सार्वजनिक बिदासहित राष्ट्रिय पर्वको रूपमा मनाउनुपर्छ ।’
प्रेम, त्याग, समर्पण र संघर्षकी अद्वितीय प्रतिमूर्ति माता सीताको जीवन केवल धार्मिक आस्थाको विषय मात्र नभई सामाजिक रूपान्तरणको प्रेरणादायी स्रोत पनि भएको उनले बताए । सीता माताले देखाउनुभएको सहनशीलता, निष्ठा, आत्मसम्मान र दृढताले आजको समाजलाई लैङ्गिक समानता, सामाजिक न्याय तथा सभ्य संस्कृतिको निर्माणतर्फ अग्रसर हुन मार्ग निर्देशन गरेको साहले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij