Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । प्रतिनिधिसभा सदस्यहरुलाई कुटनीतिक राहदानी उपलव्ध गराउन विद्यमान कानून परिमार्जन गर्ने तयारी गरिएको छ ।
बुधबार सिंहदरबारमा सभामुख डोलप्रसाद अर्यालले दलका प्रमुख सचेतकहरुसँग प्रतिनिधिसभा सदस्यहरुलाई कुटनीतिक राहदानी दिने विषयमा वर्तमान कानूनी व्यवस्थाका बारेमा छलफल गरेका हुन् ।
सांसदहरुले कुटनीतिक राहदानीको माग गरेपनि कसरी सहज बनाउने भन्ने बारेमा छलफल भएको राप्रपा प्रमुख सचेतक खश्बु ओलीले बताए । ऐन र नियम कानुनभन्दा माथि बाहिर गएर भन्दा पनि विद्यमान कानूनी व्यवस्थालाई नै परिमार्जित गर्ने विषयमा छलफल भएको उनले जानकारी दिए।
राहदानी ऐनमा सरकारी कार्यक्रम वा विशेष काममा जाँदा तोकेका पदाधिकारीले मात्रै कुटनीतिक राहदानी पाउने व्यवस्था छ । तर सांसदहरु विशेष कार्यक्रम वा निमन्त्रणामा विदेश जानुपर्ने अवस्थामा अहिलेको नियमावली अनुसार कुटनीतिक राहदानी दिन नमिल्ने देखिएपछि त्यसलाई कसरी सहजीकरण गर्ने भन्नेबारे रायसल्लाह लिने काम भएको उनको भनाइ छ ।
उनले सभामुख र दलका प्रतिनिधिबीच भएको छलफला बारेमा आ–आफ्ना दलमा छलफल गर्ने र पुनः सभामुखसँग छलफल गर्ने सहमति भएको धारणा राखे । राप्रपा प्रमुख सचेतक ओलीले संसद सञ्चालन र सांसदहरुको समस्याका बारेमा सभामुखले निकै सकारात्मक भूमिका खेलिरहनुभएको प्रतिक्रिया समेत दिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij