Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । सडक सुरक्षा, सहरी सुरक्षा र सहरी व्यवस्थापनमा काठमाडौं महानगरपालिका र नेपाल प्रहरी बीचको सम्बन्ध थप बलियो बनाइने भएको छ । कार्यवाहक मेयर सुनिता डंगोल र प्रहरी महानिरीक्षक दानबहादुर कार्कीबीच यही विषयमा केन्द्रित रही भेटघाट भएको महानगरले जनाएको छ ।
भेटमा डंगोलले भनिन्, ‘सडक सुरक्षा र ट्राफिक व्यवस्थापन, अतिक्रमित सार्वजनिक जग्गा संरक्षण र सार्वजनिक उपयोग प्रवर्द्धन, अव्यवस्थित बसोबास व्यवस्थापन, सहरी व्यवस्थापन, सहरलाई सडक मानवमुक्त बनाउने अभियान लगायतका काममा हामी नेपाल प्रहरीसँग सहकार्य गर्न चाहन्छौँ ।’
उनले महानगर प्रहरी बललाई नेपाल प्रहरीको साथ पनि खोजेकी छन् । महानिरीक्षक कार्कीले महानगरपालिकाका लागि आवश्यक सुरक्षा सहयोगको प्रतिवद्धता जनाए ।
‘उपत्यका प्रहरी कार्यालयमार्फत महानगरपालिकाका काममा समन्वय हुनेछ । यसका लागि हामीले फोकल पर्सन तोकेका छौँ’, कार्कीले भने ।
छलफलमा लागुऔषधको दुर्व्यसन नियन्त्रण, सार्वजनिक स्थलमा धुमपान र मद्यपान नियन्त्रण, पार्किङ व्यवस्थापन, सडक संकेत र ट्राफिक व्यवस्थापन, रात्रिबस र बिहानी बस सेवाको सुरक्षा, सडक मानव मुक्त काठमाडौू कार्यक्रमअन्तर्गत सञ्चालन हुने सडक सेवामा नेपाल प्रहरीको सहभागितालगायत विषयमा छलफल भएको थियो ।
महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत सरोज गुरागाईँ सहित महानगरपालिकाका अधिकारी र मानव सेवा आश्रमका अध्यक्ष रामजी अधिकारी पनि छलफलमा सहभागी थिए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij