Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र पूर्वगृहमन्त्री एवं नेपाली कांग्रेसका नेता रमेश लेखकलाई हाजिरी जमानीमा छाड्ने तयारी भएको छ ।
सर्वोच्च अदालतले अब म्याद नथप्न परमादेश दिएपछि बिहीबार दुवैलाई रिहा गर्ने तयारी गरिएको काठमाडौं प्रहरी परिसरका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।
जेनजी आन्दोलनसम्बन्धमा जाँचबुझ गर्न गठित गौरीबहादुर कार्की आयोगको प्रतिवेदन कार्यान्वयनका सिलसिलामा प्रहरीले यही चैत १४ गते बिहान ओली र लेखकलाई पक्राउ गरेको थियो ।
काठमाडौं जिल्ला अदालतले हिरासतमा राख्न तेस्रोपटक दिएको ५ दिनको म्याद गएराति सकिएको थियो ।
बालेन्द्र शाह नेतृत्वको सरकार बनेलगत्तै पहिलो मन्त्रिपरिषद बैठकले चैत १३ गते कार्की आयोगको प्रतिवेदन कार्यान्वयन गर्ने निर्णय गरेको थियो ।
सोही निर्णयका आधारमा भोलिपल्ट बिहानै ओली र लेखक दुवै पक्राउ परेका थिए । दुवै जनालाई प्रहरीले जरूरी पक्राउ पूर्जी दिएर गिरफ्तार गरेको थियो ।
ओलीपत्नी राधिका शाक्य र लेखककी पत्नी यशोधा लेखकले दायर गरेको रिटमाथि सुनुवाइ गर्दै न्यायाधीशद्वय विनोद शर्मा र सुनिलकुमार पोखरेलको संयुक्त इजलासले सोमबार अब म्याद नथप्न परमादेश जारी गरेको थियो ।
यसबीचमा मुद्दा दायर गर्न सम्भव नभएपछि जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौंको निर्णयबमोजिम हाजिरी जमानीमा छाड्न लागिएको हो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij