Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौं । नेकपा (एमाले)का नेता ईश्वर पोखरेलले पार्टीको ऐतिहासिक पृष्ठभूमि, सिद्धान्त र संगठनात्मक मजबुतीलाई स्मरण गर्दै वर्तमान चुनौतीको सामना गर्न एकताबद्ध भएर अघि बढ्नुपर्ने बताएका छन्।
पार्टीभित्र विवाद चर्किँदै गएपछि नेता पोखरेलले एमाले स्थापना कालदेखि नै प्रतिकूल परिस्थितिसँग जुध्दै सुसंगत विचार, व्यवस्थित विधि–पद्धति, सामूहिक नेतृत्व प्रणाली तथा नियन्त्रण र सन्तुलनको अभ्यासका आधारमा सुदृढ हुँदै आएको बताए।
उनले पार्टीले जनतामाझ आफ्नो स्पष्ट पहिचान र हैसियत स्थापित गर्नुपर्ने बताए। ०८२ मंसिरमा सम्पन्न ११औं राष्ट्रिय महाधिवेशनले पनि यिनै मूलभूत मूल्य र मान्यतालाई नयाँ उचाइमा पुर्याउने लक्ष्यसहित गम्भीर बहस र छलफललाई अगाडि बढाएको उल्लेख गरेका छन्।
पार्टीका नेता, कार्यकर्ता तथा समर्थकलाई यस ऐतिहासिक पृष्ठभूमि कहिल्यै नबिर्सन आग्रह गर्दै उनले भनेका छन्, ‘यिनै मूल्य र मान्यताको निरन्तरताबाट मात्र हामी अगाडि बढ्न सक्छौं र अहिले भइरहेका चौतर्फी षड्यन्त्रपूर्ण हमलाको सामना गर्दै पुनः सशक्त रूपमा उभिन सक्छौं।’
सिद्धान्तहीन सत्ता स्वार्थ, अवसरवाद, आत्मकेन्द्रीत अभिव्यक्ति तथा विधि–पद्धति विपरीतका गतिविधिलाई अत्यन्त हानिकारक भएको टिप्पणी गरे। पार्टीलाई जनताको प्रिय बनाउन र नयाँ स्तरमा गतिशील बनाउन एकता आवश्यक रहेको बताए। विकसित परिस्थितिअनुसार सोच र व्यवहार सुधार गर्नुपर्ने बताए।
अहिले चुनौतीको घेरामा परेको एमालेलाई बचाउन र सुदृढ बनाउन सबै पंक्ति सचेत र एकताबद्ध हुन आवश्यक रहेको बताए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij