Jun 04 2026 | २०८३, जेठ २१ गते
सुर्खेत । सुर्खेतमा बलात्कारपछि हत्या भएकी १६ वर्षीया इनिसा विकको घटनाबारे थप अनुसन्धान गर्न केन्द्रीय अनुसन्धान ब्युरो ९सीआइबी०को टोली सुर्खेत पुगेको छ ।
जिल्ला प्रहरी कार्यालय सुर्खेतले प्रारम्भिक अनुसन्धान जिल्लाबाटै पूरा भएको बताउँदै घटनाको थप तथ्य पत्ता लगाउन सीआइबीको सहयोग लिएको हो ।
प्रहरी निरीक्षकको कमान्डमा रहेको ब्युरोको विज्ञ टोली बिहीबार वीरेन्द्रनगर आइपुगेको जिल्ला प्रहरी कार्यालय सुर्खेतका प्रहरी उपरीक्षक सुधिरराज शाहीले जानकारी दिए । उनका अनुसार घटनासँग सम्बन्धित मोबाइलसहितका विभिन्न विद्युतीय सामग्री अनुसन्धानका लागि प्रयोगशालामा पठाइएको छ ।
पीडित र शंकास्पद पक्षसँग सम्बन्धित सामग्री केन्द्रीय विधिविज्ञान प्रयोगशालामा टेककोलोजिकल र बायोसेरोलोजिकल परीक्षणका लागि पठाइएको प्रहरीले जनाएको छ ।
यसैबीच, कर्णाली प्रदेश प्रहरी कार्यालय नेपालगञ्जबाट पोलिग्राफ परीक्षण गर्ने टोली पनि सुर्खेत पुगेको छ । पोलिग्राफ परीक्षणबाट बयानको सत्यता जाँच गर्न सहयोग पुग्ने प्रहरीको भनाइ छ ।
प्रहरीका अनुसार पोस्टमार्टम रिपोर्ट, पोलिग्राफ परीक्षण, कल डिटेल्स र अन्य विद्युतीय प्रमाणका आधारमा अनुसन्धान भइरहेको छ । सबै रिपोर्ट आएपछि घटनाबारे अन्तिम निष्कर्षमा पुग्ने प्रहरीले जनाएको छ ।
यता, मृतक किशोरीका बुबा इन्द्रबहादुर विक नेपाली सेनाबाट अवकाश पाएपछि ६ वर्षदेखि दुबई प्रहरीमा कार्यरत छन् ।
उनी घटेपछि हिजोसाझ मात्रै वीरेन्द्रनगर पुगेका छन् ।
इनिसाका बुवा इन्द्रबहादुरका अनुुसार प्रहरीले रिपोर्ट आउन एक हप्ता समय लाग्ने बताएका छन् । उनले भने,‘जबसम्म न्याय मिल्दैन तबसम्म लास उठाउँदैनौ । दोषिलाई हदसम्म कार्वाही हुनुपर्छ ।’
अनुसन्धानका लागि एक जनालाई घटनास्थलबाटै र आइतबार थप तीन जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । पक्राउ गरिएका तीनै जना नाबालक (१८ वर्षमुनिका) हुन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij