Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

११६औँ अन्तर्राष्ट्रिय नारी दिवस

'महिलाको अधिकार, न्याय र अवसर सुनिश्चित गरौँ'

'महिलाको अधिकार, न्याय र अवसर सुनिश्चित गरौँ'

  • काठमाडौँ । अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा प्रधानमन्त्री सुशीला कार्कीले महिलाको अधिकार, समानता र सम्मान सुनिश्चित गर्न सबैले मिलेर काम गर्नुपर्ने बताएकी छन्।

    onlinepatrika
    Arghakhachi

    ११६औँ अन्तर्राष्ट्रिय नारी दिवसको सन्दर्भमा शुभकामना सन्देश दिँदै उनले यस वर्ष 'सबै महिला र बालिकाका लागि अधिकार, न्याय र कार्य' भन्ने अन्तर्राष्ट्रिय नारासहित दिवस मनाइरहेको उल्लेख गरिन् । उनले देश विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइलाई शुभकामना व्यक्त गर्दै महिला दिवस केवल उत्सवको दिन मात्र नभई महिलाको अधिकार र समानताका लागि भएको ऐतिहासिक संघर्ष सम्झने अवसर पनि भएको बताइन् ।

    AGNI GROUP

    प्रधानमन्त्री कार्कीले हालै सम्पन्न प्रतिनिधि सभा निर्वाचनलाई पनि विशेष उपलब्धिका रूपमा उल्लेख गरिन् । उनले विशेष परिस्थितिमा भएको निर्वाचन शान्तिपूर्ण र लोकतान्त्रिक रूपमा सम्पन्न हुनु नेपाली जनता, संविधान र लोकतन्त्रको विजय भएको बताइन् । निर्वाचन सफल बनाउन सहयोग गर्ने जनता, निर्वाचन आयोग, सुरक्षाकर्मी, कर्मचारी, राजनीतिक दल, उम्मेदवार तथा पर्यवेक्षकप्रति उनले आभार व्यक्त गरेकी छन् ।

    उनले लोकतन्त्रमा जनताको मत अत्यन्त महत्वपूर्ण हुने भन्दै निर्वाचित प्रतिनिधिहरूले सधैँ जनताको विश्वास जोगाएर काम गर्नुपर्ने बताइन्। जनतालाई अपमान गर्ने वा शक्ति प्रदर्शन गर्ने प्रवृत्ति लोकतान्त्रिक संस्कारसँग मेल नखाने पनि उनको भनाइ थियो ।

    प्रधानमन्त्री कार्कीले महिलाको स्रोत, साधन र अवसरमा पहुँच केही बढे पनि आत्मसम्मान र समान व्यवहार अझै चुनौतीका रूपमा रहेको उल्लेख गरिन् । उनले विभेद, असमान अवसर, लैङ्गिक हिंसा र संस्कृतिजन्य असमानता अझै समाजमा कायम रहेको बताइन् ।

    उनका अनुसार शिक्षा, स्वास्थ्य, रोजगारी, उद्यमशीलता र नेतृत्वमा महिलाको पहुँच विस्तार गर्न विभिन्न नीति तथा कार्यक्रम लागू गरिए पनि अझ धेरै काम गर्न बाँकी छ । विशेषगरी दलित महिला, कर्णाली र मधेस क्षेत्रका महिला तथा सीमान्तकृत समुदायका महिलाको आवाज राज्यको नीति निर्माणमा अझ स्पष्ट रूपमा प्रतिबिम्बित हुनुपर्ने उनले बताइन् ।

    प्रधानमन्त्री कार्कीले समानता, सशक्तिकरण र सामाजिक न्यायका आधारमा समतामूलक समाज निर्माण गर्नु आजको प्रमुख जिम्मेवारी भएको उल्लेख गर्दै यो कार्य राज्य मात्र होइन, राजनीतिक दल, नागरिक समाज, निजी क्षेत्र, सञ्चार क्षेत्र र विकास साझेदार सबैको साझा जिम्मेवारी भएको पनि उनले बताइन् ।

    उनले महिलाले सम्मान, सुरक्षा र समान अवसर पाउँदा मात्र लोकतन्त्र बलियो हुने र समृद्ध तथा न्यायपूर्ण समाज निर्माण सम्भव हुने धारणा राखिन्। अन्त्यमा उनले लैङ्गिक समानता र सामाजिक न्यायको संस्कृतिलाई अझ मजबुत बनाउन सबैलाई हातेमालो गर्न आह्वान गर्दै महिला दिवसले समानता र लोकतान्त्रिक चेतनालाई थप बलियो बनाओस् भन्ने शुभकामना व्यक्त गरिन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट