Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । धादिङ बस दुर्घटनाको विषयमा छानबिन गर्न समिति गठन गरिएको छ । दुर्घटनामा ठूलो जनधनको क्षति भएपछि सोमबार गृह मन्त्रालयमा गृहमन्त्री ओम प्रकाश, भौतिक पूर्वाधार मन्त्रालयका सचिव, सडक विभागका महानिर्देशक, यातायात व्यवसायी महासंघ, तीन वटै सुरक्षा निकायका प्रमुखहरु र सरोकारवाला निकायहरुबीच छलफल भएको थियो । छलफलमा घटनाको छानबिन गर्न समिति बनाउने निर्णय भएको हो ।
पृथ्वी राजमार्ग अन्तर्गत धादिङको बेनिघाट रोराङ गाउँपालिका–७ चरौंदी नजिकै गएराति भएको बस दुर्घटनामा ज्यान गुमाउनेको संख्या १९ पुगेको छ । आइतबार साँझ पोखराबाट काठमाडौँका लागि छुटेको ग.२ ख १४२१ नम्बरको बस गएराति १ बजेतिर त्रिशूली नदी किनारमा खसेको थियो ।
दुर्घटनामा घाइते भएकाहरुको धादिङ र काठमाडौँका विभिन्न अस्पतालमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय धादिङले जनाएको छ । बस दुर्घटनामा ज्यान गुमाएका १९ जनामध्ये ९ जनाको सनाखत भएको छ ।
दुर्घटनामा मृत्यु भई सनाखत हुनेहरुमा एक जना विदेशी नागरिकसहित ९ जना रहेका छन् । ज्यान गुमाउनेमा २४ वर्षीय बेलायती नागरिक स्टेवार्ट डोमिनिक इथान , कास्कीको पोखरा महानगरपालिका- ३० का करिब ४० वर्षीय विवेक बास्तोला, स्याङ्जा वालिङ घर भई हाल काठमाडौं नागार्जुन बस्ने ६३ वर्षीय चन्द्रबहादुर कुँवर, तनहुँको व्यास नगरपालिका-४ का ४० वर्षीय ओम कुमार मल्ल र धादिङको त्रिपुरासुन्दरी गाउँपालिका-४ का ३० वर्षीय इन्जिनियर ठकुरी रहेका छन् ।
त्यसैगरी, तनहुँको शुक्लागण्डकी नगरपालिका- ७ की ५५ वर्षीया विष्णुमाया ढकाल, काठमाडौंको बौद्ध टुसालका ४२ वर्षीय लोपसाङ गोले, तनहुँको भिमाद नगरपालिका–६ का ४५ वर्षीय हरिप्रसाद सिग्देल र पाल्पाको तानसेन नगरपालिका- २ का ५५ वर्षीय नविन श्रेष्ठको पनि पहिचान खुलेको प्रहरीले जनाएको छ ।
सनाखत हुन बाँकी रहेका १० जना मृतकमध्ये ७ जना पुरुष र ३ जना महिला रहेका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij