Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । निर्वाचन आयोगका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारीले तोकिएकै समयमा निर्वाचन हुने भएकोले ढुक्क भएर तयारीमा लाग्न आग्रह गरेका छन् ।
आइतबार काठमाडौंमा आयोजित कार्यक्रममा उनले केही तत्वहरूले निर्वाचन बिथोल्ने प्रयास गरे पनि त्यो प्रयास सफल नहुने बताएका हुन् ।
उनले तोकिएकै मिति र समयमा निर्वाचन सम्पन्न हुने उल्लेख गरे। अझै पनि केही उम्मेदवारहरूले आफूलाई निर्वाचनको बारेमा संशय राखेर फोन गर्ने गरेको उल्लेख गर्दै भ्रममा नपरी निर्वाचनको प्रचारप्रसारमा लाग्न सुझाव दिए ।
उनले केही कुण्ठित व्यक्तिहरूले निश्चित उद्देश्य पूरा गर्न अनावश्यक हल्ला फैलाउने प्रयास गर्न सक्ने उल्लेख गरे । अब नेपाली जनता त्यस्ता प्रायोजित हल्लाका साक्षी बस्न नसक्ने उनको भनाइ छ ।
निर्वाचनको विकल्प निर्वाचन नै भएको दोहोर्याउँदै उनले निर्वाचनको वातावरण बिथोलिने अवस्था अब नबन्ने जिकिर गरे ।
राजनीतिक दल, उम्मेदवार र तिनका कार्यकर्ताहरू निर्वाचन प्रचार–प्रसारमा सक्रिय रहेको र उनीहरूले पनि निर्वाचन बाहेक अर्को विकल्प नदेखेको उनको भनाइ छ। नयाँ पुराना सबै शक्तिहरूले समेत निर्वाचनलाई नै मार्गका रूपमा स्वीकार गरेको उनको दाबी छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij