Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । अर्थमन्त्री रामेश्वर खनालले देशको अर्थतन्त्रलाई सही दिशामा अघि बढाउन सूचनाको सही प्रवाह अपरिहार्य रहेको बताएका छन् । राष्ट्रिय सूचना आयोग र नेपाल पत्रकार महासङ्घले शुक्रबार काठमाडौँमा आयोजना गरेको ‘मिडियामा सूचनाको हक प्रयोगः अभ्यास र चुनौती’ विषयक अन्तक्रियामा बोल्दै मन्त्री खनालले गलत सूचनाले समग्र अर्थतन्त्रमै गम्भीर असर पार्न सक्ने चेतावनी दिएका हुन् ।
सही समयमा सही सूचना प्राप्त नहुँदा बजारमा अस्थिरता पैदा हुने भएकाले यसप्रति सबै सचेत हुनुपर्ने उनको तर्क छ । पुँजी बजारको वर्तमान अवस्थाप्रति टिप्पणी गर्दै मन्त्री खनालले सूचनामा केही सीमित व्यक्तिहरूको एकाधिकार रहँदा उनीहरूले मात्र लाभ लिइरहेको र आम लगानीकर्ताहरू निर्णय लिनबाट बञ्चित भएको धारणा राखेका छन् ।
सबै लगानीकर्ताले समान रूपमा र समयमै सूचना पाउनुपर्ने वातावरण निर्माण गर्नु राज्यको दायित्व भएको उनले प्रस्ट पारे । यद्यपि, सूचनाको हकलाई दुरुपयोग गर्दै अवाञ्छित गतिविधिमा संलग्न हुने प्रवृत्तिप्रति पनि उनले सचेत गराएका छन् ।
समाजलाई शान्त र सभ्य राख्न नागरिकलाई सही कारणका लागि सही समयमा सूचना दिनु राज्यको जिम्मेवारी भएको मन्त्री खनालको भनाइ छ । अपुष्ट र अप्रमाणित सूचनाकै कारण जेनजी आन्दोलनमा ठुलो जनधनको क्षति भएको स्मरण गर्दै उनले सूचना प्रवाहमा थप गम्भीरता अपनाउन आग्रह गरे ।
सही सूचना प्रवाहका लागि सञ्चारमाध्यम मात्र नभई संवैधानिक निकाय, संसद् र न्याय प्रणाली लगायतका सबै अङ्गहरू उत्तिकै जिम्मेवार र जवाफदेही हुनुपर्नेमा उनले जोड दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij