Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । दशरथ रंगशालामा आज आइतबारदेखि विकास सिल्ड राष्ट्रिय बहिरा इलेभेन–ए–साइड फुटबल प्रतियोगिता सुरु हुँदै छ ।
दुई दिने प्रतियोगितामा सात प्रदेशका गरी ८ टोलीले प्रतिस्पर्धा गर्नेछन् । ६ प्रदेशको १–१ र बागमती प्रदेशको दुई टोली समावेश गरिएको आयोजक सुन्दरढोका साथीसेवाले जानकारी गराएको छ । पहिलो दिन चार खेल हुनेछ । दोस्रो दिन सोमबार फाइनलसहित चार खेल हुनेछ ।
प्रतियोगिताको विजेता टोलीले ट्रफीसहित ५० हजार, उपविजेताले ४० हजार र तेस्रो हुने टोलीले ३० हजार रुपैयाँ पुरस्कार प्राप्त गर्नेछन् । विधागत उत्कृष्ट खेलाडीले जनही ५ हजार पाउनेछन् ।
आयोजक संस्थाकी कार्यकारी निर्देशक विजता लुईंटेल अधिकारीले यस प्रतियोगितामार्फत बहिरा अपांगता भएका फुटबल खेलाडीको पहिचान गर्नुका साथै राष्ट्रिय तथा अन्तर्राष्ट्रिय बहिरा फुटबल प्रतियोगितामा सहभागिता जनाउन वातावरण तयार पार्ने उद्देश्य रहेको बताइन् ।
आयोजकमध्येकै एक राष्ट्रिय बहिरा फुटबल संघका रिवेश श्रेष्ठले प्रतियोगिताको प्राविधिक पक्षबारे जानकारी गराएका छन् । उनका अनुसार १ घन्टाको खेलमा दुई हाफ ३०–३० मिनेटको हुनेछ । रेफ्री सहयोग एन्फाले उपलब्ध गराउने छ ।
अपांगता परिचयपत्र भएको, कम्तीमा ५५ डेसिबल श्रवणशक्तिमा कमी रहेको, १८ वर्ष पूरा भएको, शारीरिक रूपमा तन्दुरुस्त भएकाले मात्र सहभागिता जनाउने पाउनेछन् ।
कार्यक्रम व्यवस्थापक ज्ञाननारायण श्रेष्ठले सुन्दरढोका साथीसेवाले हरेक दुई वर्षका अपांगता खेलकुदको विभिन्न विधामा राष्ट्रिय स्तरको प्रतियोगिता गर्दै आएको जानकारी गराउँदै यसपालि बहिरा फुटबल आयोजना गरिएको बताए । उनले प्रतियोगिताका लागि अनुमानित ३८ लाख ३ हजार बजेट लाग्ने बताए । सहभागी सम्पूर्ण खेलाडीको जर्सी सेट, आतेजाते, आवास, खाना सबै व्यवस्था आयोजकले गर्ने भएको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij