Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सीवाईसी नेपाल लघुवित्त वित्तीय संस्था लिमिटेडले चालू आवको दोस्रो त्रैमासिक वित्तीय विवरण प्रकाशित गरेको छ । सो अनुसार गत आवको ६ महीनाको तुलनामा चालू आवको ६ महीनासम्म नाफामा गिरावट आएको हो ।
गत आवको ६ महीना अर्थात पुस मसान्तसम्म कम्पनीले ४ करोड ३१ लाख रुपैयाँ खुद नाफा कमाएकोमा त्यसको तुलनामा चालू आवको ६ महीनासम्म १३.६१ प्रतिशतको गिरावट सहित खुद नाफा ३ करोड ७२ लाख रुपैयाँमा झरेको छ ।
यद्यपि कम्पनीको आम्दानीमा भने वृद्धि भएको वित्तीय विवरणले देखाएको छ । गत आवको पुस मसान्तसम्म १७ करोड ४० लाख रुपैयाँ खुद ब्याज आम्दानी गरेकोमा चालू आवको पुस मसान्तसम्म १६.५४ प्रतिशतले बढेर २० करोड २८ लाख रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिमा कम्पनीको कुल सञ्चालन आम्दानी पनि १९ करोड ८७ लाख रुपैयाँबाट १९.७६ प्रतिशतको वृद्धि सहित २३ करोड ८० लाख रुपैयाँ पुगेको छ । तथापि कम्पनीको सञ्चालन नाफा भने ५ करोड ९३ लाख रुपैयाँबाट १९.१० प्रतिशतको गिरावट सहित ४ करोड ८० लाख रुपैयाँमा झर्न पुगेको छ ।
यता कम्पनीको खराब कर्जा भने चुलिएको तथ्यांकले देखाएको छ । गत आवको पुस मसान्तसम्म खराब कर्जा ४.३५ प्रतिशत रहेकोमा त्यसको तुलनामा चालू आवको पुस मसान्तसम्म ह्वात्तै बढेर १८.४८ प्रतिशत कायम भएको छ जुन निकै उच्च हो । यता कम्पनीको प्रतिशेयर आम्दानी भने ३२.४० रुपैयाँबाट घटी २७.९९ रुपैयाँमा झर्दा प्रतिशेयर नेटवर्थ २६८.७२ रुपैयाँ कायम भएको छ ।
चुक्ता पूँजी २६ करोड ६४ लाख रुपैयाँ रहको कम्पनीको जगेडामा १६ करोड ८६ लाख रुपैयाँ र रिजर्भमा २८ करोड ८ लाख रुपैयाँ सञ्चिति रहेको छ । कम्पनीले ६ अर्ब ३४ करोड रुपैयाँ कर्जा प्रवाह गरी २ अर्ब ८२ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । पुस मसान्तसम्म कम्पनीको कुल सम्पत्तिको मूल्य ७ अर्ब २७ करोड २५ लाख रुपैयाँभन्दा माथि पुगेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij