Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । चेम्पियन्स लिगको अन्तिम १६ मा पुग्ने लक्ष्यलाई थप बलियो बनाउँदै बार्सिलोनाले चेक गणतन्त्रको राजधानी प्रागमा स्लाभिया प्राग विरुद्ध ४-२ को कठिन तर महत्वपूर्ण जित निकालेको छ। अत्यधिक चिसो मौसममा भएको यस खेलमा बार्सिलोनाले सुरुवाती दबाब झेल्दै उत्कृष्ट पुनरागमन गरेको हो।
खेलको १०औं मिनेटमै घरेलु टोली स्लाभिया प्रागले वासिल कुसेजको गोलमार्फत अप्रत्याशित अग्रता लिएको थियो। कर्नरबाट आएको बललाई सदुपयोग गर्दै कुसेजले बार्सिलोनाको रक्षापङ्क्तिलाई स्तब्ध पारेका थिए। खेलमा फर्कन संघर्ष गरिरहेको बार्सिलोनाका लागि ३४औं मिनेटमा फर्मिन लोपेजले बराबरी गोल फर्काए। फ्रेंकी डी जोङको चलाखीपूर्ण पासमा उनले बललाई जाली चुमाएका थिए। लगत्तै ४२औं मिनेटमा लोपेजले नै व्यक्तिगत दोस्रो गोल गर्दै बार्सिलोनालाई २-१ को अग्रता दिलाए।
यद्यपि, बार्सिलोनाको यो खुसी लामो समय टिक्न सकेन। पहिलो हाफ सकिनु ठिक अघि स्लाभियाको कर्नर प्रहारमा बल रोबर्ट लेवान्डोस्कीको शरीरमा ठोकिएर आफ्नै पोष्टमा छिरेपछि खेल २-२ को रोमाञ्चक स्थितिमा पुग्यो।
दोस्रो हाफमा बार्सिलोना अझ आक्रामक रूपमा प्रस्तुत भयो। घाइते भएका पेड्रीको स्थानमा मैदान छिरेका डानी ओल्मोले खेलको लय नै बदलिदिए। उनले पेनाल्टी बक्स बाहिरबाट प्रहार गरेको उत्कृष्ट 'लङ रेन्ज' सट गोलमा परिणत भएपछि बार्सिलोनाले ३-२ को अग्रता लियो।
खेलको अन्तिम समयतिर म्यानचेस्टर युनाइटेडबाट लोनमा आएका मार्कस रासफोर्डले आफ्नो प्रभाव देखाए। बेन्चबाट मैदान प्रवेश गरेका रासफोर्डले उपलब्ध गराएको पासमा लेवान्डोस्कीले गोल गर्दै अघिल्लो आत्मघाती गोलको प्रायश्चित गरे र टोलीको ४-२ को जित सुनिश्चित गरे।
प्रतिबन्धका कारण लामिन यमाल बिना नै मैदान उत्रिएको बार्सिलोनाले यो जितसँगै राहत महसुस गरेको छ। तर, खेलका क्रममा पेड्री चोटका कारण मैदानबाट बाहिरिनु बार्सिलोनाका लागि केही चिन्ताको विषय बनेको छ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij