Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली कांग्रेसले आन्तरिक कलहकैबीच निर्वाचनको टिकट वितरणको तयारी गरेको छ । मंगलबार मनोनयन दर्ता गर्नुपर्ने भएकोले आजै टिकटको टुंगो लगाउन थालेको हो ।
२१ फागुनमा हुने निर्वाचनका लागि टिकट मिलान र विवाद साम्य पार्न भन्दै तीन गुटका नेताले छलफल गरेका छन् ।
विशेष महाधिवेशनबाट निर्वाचित भएर आधिकारिकता पाएका गगन थापा, शेरबहादुर देउवा र शेखर कोइराला समूहका नेताहरु छलफलमा जुटे पनि कुनै सहमति भने भएको छैन ।
निर्वाचन आयोगबाट आधिकारिकता पाएको गगन समूहले पार्टीको टिकट लिएर निर्वाचन लड्ने भए निर्वाचन आयोगले दिएको आधिकारिकताविरुद्ध सर्वोच्चमा हालेको रिट फिर्ता लिनुपर्ने सर्त राखेको छ ।
‘विशेष महाधिवेशनको नेतृत्व स्वीकारेर उनको (गगन थापा) हस्ताक्षरसहितको टिकट लिएपछि विशेष महाधिवेशनलाई स्वीकारेको हुने भयो’, आयोगबाट आधिकारिकता पाएको गगन समूह एक नेताले भने, ‘यता, सभापति स्विकारेर टिकट लिने उता विशेष महाधिवेशन अवैध भनेर अदालत जान भएन नि !’
गगन समूहले राखेको सर्तबारे देउवा-शेखर समूहका नेताहरुले कुनै प्रतिक्रिया दिइसकेका छैनन् । र, बैठक आज बिहान पनि जारी रहेको नेताहरुले बताएका छन् ।
आइतबार राति सभापति गगन थापा समूहबाट मधु आचार्य र देवराज चालिसे, शेरबहादुर देउवा समूहबाट नेता रमेश लेखक र शेखर कोइराला समूहबाट नेता मिनेन्द्र रिजालले विवाद मिलाएर जान छलफल चलाएका थिए । सोही छलफललाई आज पनि निरन्तरता दिइएको नेताहरुले बताएका छन् ।
राति भएको छलफलमा अन्य कुरामा नमिले पनि निवर्तमान सांसद र दान नलागेका व्यक्तिहरुलाई टिकट दिने विषयमा भने गगन समूह तयार भएको एक नेताले बताए ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij