Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो

निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्यो

  • काठमाडौं । पछिल्लो समय निक्षेप बढ्दा कर्जाको ब्याजदर घट्दै गएको छ । 

    onlinepatrika
    Arghakhachi

    अर्थ मन्त्रालयले सार्वजनिक गरेको विवरणअनुसार पछिल्लो समय बैंक तथा वित्तीय क्षेत्रमा रहेको निक्षेप बढेको छ भने निक्षेप र कर्जाको ब्याजदर घटेको छ । चालु आवको कात्तिकसम्मको अवधिमा निजी क्षेत्रतर्फको कर्जा प्रवाह बढेको छ ।

    AGNI GROUP

    २०८२ असार मसान्तको तुलनामा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप, २०८२ कात्तिक मसान्तमा ३ दशमलव १ प्रतिशतले बढेर ७४ खर्ब ८६ अर्ब २५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो निक्षेप २ दशमलव ३ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थामा रहेको निक्षेप १३ दशमलव ४ प्रतिशतले वृद्धि भएको छ ।

    २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा २०८२ असार मसान्तको तुलनामा १.२ प्रतिशतले बढेर ५५ खर्ब ६२ अर्ब ७५ करोड पुगेको छ । २०८१ को सोही अवधिमा यस्तो कर्जा २०८१ असार मसान्तको तुलनामा २ दशमलव ५ प्रतिशतले वृद्धि भएको थियो । वार्षिक बिन्दुगत आधारमा २०८२ कात्तिक मसान्तमा बैंक तथा वित्तीय संस्थाबाट निजी क्षेत्रतर्फ प्रवाहित कर्जा ६ दशमलव ९ प्रतिशतले बढेको छ ।

    कात्तिक मसान्त सम्मको अवधिमा भएको कर्जा प्रवाहमध्ये उपभोगमा आधारित ऋणको हिस्सा सबैभन्दा बढी २० दशमलव ८ प्रतिशत रहेको छ भने सबैभन्दा कम ऋण प्रवाह स्थानीय तहमा भएको छ । 

    २०८१ कात्तिकमा वाणिज्य बैंकको निक्षेप तथा कर्जाको भारित औसत ब्याजदर क्रमशः ५ दशमलव १ प्रतिशत र ९ दशमलव ७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा क्रमशः ३ दशमलव ७४ प्रतिशत र ७ दशमलव ३८ प्रतिशतमा झरेको छ । 

    २०८२ कात्तिक मसान्तमा २० वाणिज्य बैंक, १७ विकास बैंक, १७ वित्त कम्पनी, ५२ लघुवित्त वित्तीय संस्था र १ पूर्वाधार विकास बैंक गरी कुल १०७ बैंक तथा वित्तीय संस्थाहरू सञ्चालनमा रहेका छन् । सबै स्थानीय तहहरूमा वाणिज्य बैंकका शाखा पुगेको छ । बैंक तथा वित्तीय संस्थाको शाखा संख्या २०८१ कात्तिक मसान्तमा ११ हजार ५ सय ४२ रहेकोमा २०८२ को सोही अवधिमा ११ हजार ५ सय १६ रहेको छ । यस अवधिमा एटिएम बुथको संख्या भने ४४ ले थप भई ५ हजार २६८ पुगेको छ ।

    बैंक तथा वित्तीय संस्थाको निष्कृय कर्जा बढेको छ भने विपन्न क्षेत्र कर्जा घटेको छ । २०८१ कात्तिकमा कुल कर्जाको ४ दशमलव ४२ प्रतिशत रहेको निष्कृय कर्जा २०८२ कात्तिकमा ५ दशमलव २६ प्रतिशत पुगेको छ । त्यसैगरी, २०८१ कात्तिकमा विपन्न क्षेत्र कर्जा कुल कर्जा लगानीको ६.१७ प्रतिशत रहेकोमा २०८२ कात्तिकमा ५.३६ प्रतिशत रहेको छ ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट