Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडाैँ । अस्ट्रेलियाका पूर्व ब्याटर डेमियन मार्टिन कोमाबाट बाहिर आएका छन्। ५४ वर्षीय मार्टिनको स्वास्थ्यमा ‘चमत्कारी’ सुधार देखिएको छ।
अघिल्लो महिनाको अन्त्यतिर गम्भीर बिरामी परेका उनलाई मेनिन्जाइटिस भएको पुष्टि भएपछि क्वीन्सल्याण्डको एक अस्पतालमा भर्ना गरिएको थियो। मार्टिनका परिवारका तर्फबाट उनका निकट मित्र तथा पूर्व क्रिकेटर एडम गिलक्रिस्टले आइतबार जारी गरेको बयानमा पछिल्लो ४८ घण्टामा अवस्थामा लोभलाग्दो सुधार आएको उल्लेख छ।
गिलक्रिस्टका अनुसार कोमाबाट बाहिर आएपछि मार्टिनले असाधारण रूपमा प्रतिक्रिया दिएका छन्, जसलाई परिवारले एक चमत्कारका रूपमा लिएको छ।
अस्पताल स्रोतका अनुसार मार्टिन अहिले कुराकानी गर्न सक्ने अवस्थामा पुगेका छन्। पूर्व विकेटकिपर गिलक्रिस्टले मार्टिनको अवस्था यति सकारात्मक छ कि डाक्टरहरूले उनलाई छिट्टै सघन उपचार कक्ष (आईसीयू) बाट बाहिर सार्ने तयारी गरिरहेका छन्।
मार्टिन अस्ट्रेलियाका प्रभावशाली मध्यक्रमका ब्याटर हुन्। उनले अस्ट्रेलियाका लागि चारवटा एसेज शृङ्खला खेलेका थिए।
सन् २००६ मा तेस्रो टेस्टअघि उनले अचानक अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यासको घोषणा गरेर सबैलाई अचम्ममा पारेका थिए। उनी अस्ट्रेलियाले दुई पटक विश्वकप जित्दा टोलीको महत्त्वपूर्ण सदस्य रहेका थिए।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij