Logo

Apr 02 2025 | २०८१, चैत २० गते

Apr 02 2025 | २०८१, चैत २० गते

विप्लव फकाउने रणनीतिमा ओली: खानेपानी मन्त्री र हेमन्तबीच कारागारमै वार्ता

विप्लव फकाउने रणनीतिमा ओली: खानेपानी मन्त्री र हेमन्तबीच कारागारमै वार्ता

  • काठमाडौँ । कारागार परिसरको छड्के जाँच गर्न मंगलबार ललितपुरको नख्खु कारागार पुगेका खानेपानी मन्त्री मणिचन्द्र थापा कैदीसँग लामै भलाकुसारी गरेर बाहिरिएका छन् । कारागारमा दुर्गन्ध फैलिएको र पिउने पानीधरी सफा नभएको गुनासो आएपछि उनी त्यही वहाना लिएर कारागार पुगेका खबर आजको नागरिक दैनिकमा छ ।

    कारागार अवलोकन गर्न गएका मन्त्री थापाले विप्लव समूहका नेता हेमन्त प्रकाश वली ‘सुदर्शन’लाई भेटेर लामो कुराकानी गरेका थिए । उनले कारागार अवलोकनमा भन्दा धेरै समय सुदर्शनसँग कुराकानीमा बिताएका थिए । मन्त्री थापा कुराकानी गर्ने क्रममा थुनुवा सुदर्शन सुत्ने कोठामै पुगेर ‘वार्ता’ गरेका थिए । सामान्यतया कैदी वा थुनुवासँग यति नजिक भएर कुराकानी गर्न पाइँदैन । तर, मन्त्री थापाले प्रत्यक्ष रुपमा नजिक भएर भलाकुसारी नै गरेका थिए । उनी कैदीको छेवैमा पुगे पनि कर्मचारीहरूले नजिक नजान आग्रह गर्न सकेनन् । अन्य कैदीबन्दीका आफन्तलाई भने यसरी नजिकबाट भेट्न दिइनन् । मन्त्री थापाले करिब २० मिनेट कुराकानी गरेको कारागार प्रशासनले जानकारी दियो ।

    मन्त्री थापाले राजनीतिक विषयमा कैदी वलीसँग कुराकानी गरेका थिए । उनले विप्लब समूहसँग सरकारले वार्ता गर्ने अपेक्षा दिलाउँदै फर्किएको कारागार स्रोतको भनाइ छ । मन्त्री थापाले भेट गरेका कैदी सुदर्शन, विप्लव समूहका अराजक नेता मानिन्छन् । उनी पक्राउ पर्नुअघि पार्टी समूहको मध्यकमाण्ड इञ्चार्जको भुमिका चलाएका थिए । स्रोतका अनुसार सुदर्शन वार्ता पक्षधर नेताका रुपमा चिनिँदै आएका थिए । भेटका क्रममा मन्त्री थापाले विप्लव समूहलाई पनि वार्तामा ल्याउन नेताहरू लागिपरेको बताएका थिए । अन्य गुनासो भन्दा पनि राजनीतिक कुराकानीको लागि खानेपानीमन्त्री थापा कारागार पुगेको बुझिएको छ ।

    स्रोतका अनुसार प्रधानमन्त्री केपी शर्मा ओलीले माओवादी खेमाका नेताहरूको सपोर्ट लिनको लागि पनि मन्त्रीहरू प्रयोग गरेको बुझिएको छ । ‘प्रधानमन्त्री ओलीले कैदी सुदर्शनको मत बुझन् पनि मन्त्रीलाई कारागार पठाएको अनुमान गर्न सकिन्छ,’ स्रोतले भन्यो । कारागारबाट बाहिरिएपछि सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै मन्त्री थापाले कारागारमा भएको कुराकानी खुलासा गरे । उनले भेटमा वार्ताबारे कुराकानी भएको बताए । नेता सुदर्शनले आफू जेलमा भएकाले वार्ता प्रक्रियाबारे जानकारी नभएको मन्त्री थापासमक्ष बताएका थिए । कारागारमा लामो कुराकानी गरेर बाहिरिएका मन्त्री थापाले कारागारभित्रको कुराकानी खुलाएनन् ।

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij