
Sep 10 2025 | २०८२, भदौ २५ गते
काठमाडौं । जेनजी प्रदर्शनकारीले मंगलबार मुख्य प्रशासनिक भवन सिंहदरबारमा आगजनी गरेपछि त्यहाँका प्राय: भौतिक संरचनामा क्षति पुगेको छ ।
तर, त्यहीँभित्र रहेको विभिन्न सरकारी निकाय र कार्यालयका डिजिटल तथ्यांक (डाटा) मा खासै असर नपुगेको एकीकृत डाटा व्यवस्थापन केन्द्र (आईडीएमसी) का कार्यालय प्रमुख मनिष भट्टराईले बताए ।
आईडीएमसीले आफ्ना डाटालाई सुरक्षित राख्न हेटौँडामा स्थापना गरेको डीआर (डिजास्टर रिकभरी कार्यालय) पनि पूर्णत: सुरक्षित रहेको भट्टराईले बताए । कतिपयले हेटौँडाको डीआरमा आगजनी भएको र सम्पूर्ण सरकारी डाटा कोल्याप्स भएको हल्ला चलाएको भन्दै भट्टराईले यी सबै अफवाह मात्रै भएको बताए ।
आईडीएमसीअन्तर्गत सबैजसो सरकारी निकाय र कार्यालयको डाटा सुरक्षित रहेको, तर केही निकायले आफ्नै डाटा सेन्टर सञ्चालन गरेका कारण मङ्गलवारको आगजनीमा परेको भए तिनका डाटाबारे केही भन्न नसकिने उनले बताए । यद्यपि सर्वोच्च अदालतका केही डाटा हेटौँडास्थित डीआर कार्यालयमा सुरक्षित रहेको उनले बताए ।
आन्तरिक राजस्व कार्यालय (आईआरडी), राहदानी विभाग, अध्यागमन कार्यालयहरूले आ–आफ्नै डाटा सेन्टर सञ्चालन गरेका छन् । तर, तिनले पनि आईडीएमसीअन्तर्गत डीआरमा व्याकअप राखेका कारण
कुनै क्षति भएको भए रिकभर हुने भट्टराई बताउँछन् । अत्यधिक क्षति भएको सर्वोच्च अदालतले आईडीएमसीसँग डाटा रिकभरका लागि ताकेता गरेको छ । भट्टराईले बताएअनुसार पत्र पाएपछि हेटौँडास्थित डीआरमा रहेको ब्याकअप हेर्न सकिन्छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij