
Jul 23 2025 | २०८२, साउन ७ गते
काठमाडौं । मुलुककै सबैभन्दा ठूलो फलफूल तथा तरकारी बजार कालीमाटीमा दोलखाबाट ल्याइएको रायो सागमा अत्यधिक मात्रामा विषादी भेटिएको छ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिका अनुसार बुधबार परीक्षण गरिएका नमुनामध्ये रायो सागमा ८०.९५९० प्रतिशत ‘अर्गानोफस्फेट’ नामक विषादीको मात्रा पाइएको हो ।
केन्द्रीय कृषि प्रयोगशालाले बुधबार कालीमाटी बजारका १७ वटा पसलबाट संकलित १७ प्रकारका तरकारी तथा फलफूल परीक्षण गरेको थियो । परीक्षणको क्रममा अत्यधिक विषादीयुक्त रायो साग उपभोगका लागि पूर्ण रूपमा अयोग्य भएको समितिले जनाएको छ ।
यो पहिलो घटना भने होइन । यसअघि २४ असारमा भक्तपुरबाट ल्याइएको रायो सागमा ८२.७८ प्रतिशत विषादी भेटिएको थियो भने २६ असारमा काभ्रेबाट आएको घिउ सिमीमा ८६.८४ प्रतिशत विषादीको मात्रा पाइएको थियो ।
सरकारले तोकेको मापदण्डअनुसार विषादीको अवशेष ३५ प्रतिशतभन्दा कम भएमा मात्र तरकारी उपभोग गर्न योग्य मानिन्छ । ३५ देखि ४५ प्रतिशतबीच भए केही दिन राखेर उपभोग गर्न सकिने भनिएको छ । तर ४५ प्रतिशतभन्दा बढी विषादी भएमा ती तरकारी र फलफूल पूर्णतः अयोग्य मानिन्छन् ।
विशेषज्ञहरूका अनुसार यस्तो अत्यधिक विषादी सेवनले दीर्घकालीन स्वास्थ्यमा गम्भीर असर पुर्याउन सक्छ । उपभोक्ताहरूले बजारबाट तरकारी किन्दा सावधानी अपनाउनुपर्ने र सरकार तथा नियामक निकायले अझ कडाइका साथ अनुगमन गर्नुपर्ने आवाज उठ्न थालेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij