
Jul 01 2025 | २०८२, असार १७ गते
काठमाडौं । जल तथा मौसम विज्ञान विभागको बाढी पूर्वानुमान महाशाखाले हरेक दिनजस्तै आज (असार १७, मंगलबार) पनि बाढीबारे सतर्कता सूचना जारी गरेको छ । बाढी महाशाखाका अनुसार आज कोसी, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश भई वहने केही ससाना नदीमा बहाब आकस्मिक बढ्न सक्ने सम्भावना छ ।
नदीका हिसाबले आज कोसी, नारायणी, कर्णाली, महाकाली र यसका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र बबई नदीको जलसतह सतर्कता तह तलै तर बढ्दो रहने सम्भावना रहेकाले ती नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन आवश्यक रहेको बाढी महाशाखाले जनाएको छ ।
जिल्लाका हिसाबले चाहिँ आज दोलखा, सिन्धुपाल्चोक, काठमाडौँ, ललितपुर, भक्तपुर, नुवाकोट, धादिङ, कैलाली, कञ्चनपुर र आसपासका जिल्ला भई वहने ससाना नदीको बहाब उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम हुने सम्भावना उच्च छ । अत: ती जिल्लाका खोला/नदीका तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।
साथै संखुवासभा, रसुवा, कास्की,लमजुङ, पर्वत, गोरखा, तनहुँ, नवलपरासी पूर्व, नवलपरासी पश्चिम, चितवन, काभ्रेपलाञ्चोक, मकवानपुर, दार्चुला, डोटी, डडेलधुरा, बैतडी र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाब पनि उल्लेख्य बढ्ने र आकस्मिक बाढीको मध्यम जोखिम देखिएको छ।
उल्लिखित २५ जिल्लालाई बाढी महाशाखाले पहेँलो सूचीमा राखेको छ । यसको अर्थ सामान्यभन्दा अलि बढी मध्यम जोखिम छ भन्ने हो ।
यसैगरी आज ताप्लेजुङ, तेह्रथुम, भोजपुर, खोटाङ, जाजरकोट र आसपासका जिल्ला भई वहने केही ससाना नदीको बहाव उल्लेख्य बढ्ने र आकस्मिक बाढीको सामान्य जोखिम देखिएकाले ती जिल्लाका खोला/नदीका तटीय क्षेत्रमा सतर्कता अपनाउन बाढी महाशाखाले सुझाव दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij