
Jun 06 2025 | २०८२, जेठ २३ गते
काठमाडौं । राजावादी घटकहरुको समूह संयुक्त जनआन्दोलन परिचालन समितिले रणनीतिक बैठक बोलाएको छ । राजसंस्था र हिन्दू राज्य लगायतका मागहरु राखेर जेठ १५ गतेबाट सुरु भएको राजवादी आन्दोलनको एक साता बित्दा थप रणनीति बनाएर अघि बढ्नुपर्ने तयारीमा राजावादीहरु देखिएका हुन् ।
जेठ १५ गतेबाट निरन्तर आन्दोलन गरिरहेका राजावादीहरुले आज भने आन्दोलन नै स्थगित गरेर बैठक बोलाएका छन् । दिउँसो २ बजे धुम्बाराहीको नवदुर्गा पार्टी प्यालेसमा बोलाइएको बैठकमा विभिन्न ४४ वटा राजावादी समूहहरुको उपस्थिति रहने बताइएको छ ।
आन्दोलन चर्किँदै जाँदा सरकारले विभिन्न स्थानमा निषेधाज्ञा जारी गरेर सरकार थप तर्सिएको भन्दै आन्दोलनको समीक्षा र आगामी रणनीति बनाउन बैठक बोलाइएको बताइएको छ ।
‘एक हप्ते आन्दोलनको अन्तिम समयमा जतिजति शान्तिपूर्ण अघि बढ्यो उतिउति सरकारले निषेधाज्ञा भन्दै सीमा तोकेर बोली रोक्न खोजेपछि अब आन्दोलनलाई निर्णायक बनाउन बृहत समीक्षा बैठक भोली नवदुर्गा पार्टी प्यालेसमा बस्नेछ । सबै आन्दोलनरत ४४ वटै संस्था र अन्य स्वतन्त्र प्रबुद्ध व्यक्तित्वहरुको भोलिको समीक्षा बैठकबाट सशस्त्र निर्णायक आन्दोलनका कार्यक्रमहरु घोषणा गरिनेछ,’ मंगलबार विज्ञप्ति जारी गर्दै संयुक्त जनआनदोलन परिचालन समितिले भनेको छ ।
त्यस्तै समितिले लिखित रुपमा सुझावहरु समेत माग गरेको छ ।
गणतन्त्र दिवसकै दिनबाट राजावदीहरुले वर्तमान व्यवस्थाविरुद्ध प्रदर्शन सुरु गरेका थिए । सरकारले भने कोटेश्वर, सिफलचौर र बल्खु बाहेकका क्षेत्रहरुमा विरोध प्रदर्शन नपाइने गरी निषेधाज्ञा जारी गरेको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij