
May 04 2025 | २०८२, वैशाख २१ गते
काठमाडौं । विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा नेपाल पत्रकार महासंघ काठमाडौं शाखाले आज प्रभातफेरी आयोजना गरेको छ ।
‘नयाँ विश्वमा साहसी पत्रकारिता, प्रेस स्वतन्त्रता र सञ्चार माध्यममा कृत्रिम बुद्धिमत्ताको प्रभाव’ नारासहितको प्रभातफेरी रत्नपार्क शान्तिबाट सुरु भई भृकुटीमण्डपमा पुगेर सभामा परिणत भएको थियो ।
सभामा प्रेस र अभिव्यक्ति स्वतन्त्रताका लागि संघर्ष गर्ने पत्रकारप्रति सम्मान व्यक्त गरियो। कार्यक्रममा वरिष्ठ पत्रकारले विश्व प्रेस दिवसले राज्यलाई प्रेस र अभिव्यक्ति स्वतन्त्रताको संरक्षण गर्न र पत्रकारलाई सत्य, निष्पक्ष, नैतिक र जिम्मेवार पत्रकारिता गर्न प्रेरित गर्ने विश्वास व्यक्त गरे ।
नेपाल पत्रकार महासंघका अध्यक्ष निर्मला शर्माले महासंघले देशभरका पत्रकारको अवस्था र प्रेस स्वतन्त्रता हननका घटनाको अनुगमन गरिरहेको बताए। उनले गत वर्षको तुलनामा यो वर्ष प्रेस स्वतन्त्रता हननका घटना बढेको उल्लेख गरिन् ।
उनले अझै पनि दण्डहीनता कायम रहेको, पत्रकारको हत्या नरोकिएको, निरन्तर धम्की र विस्थापनको अवस्था रहेको तथा सञ्चारमाध्यममा आक्रमणका घटना भइरहेको बताए । यस्ता घटनामा संलग्न दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेकी छिन् ।
कार्यक्रममा महासचिव रामप्रसाद दाहाल, पूर्व कार्यवाहक अध्यक्ष रमेश विष्ट र काठमाडौं शाखाका अध्यक्ष शोभा अर्यालले नेपाली पत्रकारिताले लोकतन्त्र स्थापनाका लागि विभिन्न आन्दोलनमा अग्रमोर्चामा रहेर योगदान दिएको स्मरण गरिन् । उनीहरूले अझै पनि पत्रकारले समाचार लेखेकै कारण आक्रमण, यातना र समस्या भोग्नुपरेको बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij