
Jun 09 2025 | २०८२, जेठ २६ गते
काठमाडौं । भारतीय नम्बरको कारमा लुकाई छिपाई राजधानी काठमाडौं तर्फ लागिरहेको ठूलो परिमाणको लागुऔषधका साथ १ भारतीय सहीत २ जना पक्राउ परेका छन्।
बाराको ईलाका प्रहरी कार्यालय अमलेखगंजबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा कारमा लुकाएको प्रतिबन्धित लागुऔषध ट्रमाडोल क्याप्सुल सहित दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा भारत बिहार मोतिहारी जिल्ला अरेराज मलाही वडा ११ का २३ वर्षीय कार चालक नितिश कुमार ठाकुर र वीरगंज महानगरपालिका १६ का २६ वर्षीय सिद्वान्त प्रसाद पटेल रहेको जिल्ला प्रहरी बाराका प्रवक्ता डिएस्पी विजयराज पण्डितले बताएका छन्।
सई टेक बहादुर कार्कीको कमाण्डमा खटिएको टोलीले ईलाका प्रहरी कार्यालय अमलेखगंज अगाडि वीरगंजबाट हेटौंडातर्फ जाँदै गरेको भारतीय नम्बर विआर ०५ बिए ४८१७ को चेकजाँच गर्दा पछाडिको सिटमुनी फल्स बटम बनाई लुकाईराखेको २ हजार ९६५ पत्ता २९हजार, ६५ नशालु क्याप्सुल बरामद गरेको हो प्रवक्ता पण्डितले जानकारी दिएका छन्।
मंगलवार साँझ पक्राउ परेका दुवै जनालाई लागुऔषध र कार सहित नियन्त्रणमा लिएर थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ । बारा प्रहरी प्रमुख एसपी सन्तोष तामाङको निर्देशनमा संचालित लागुऔषध कारोबार नियन्त्रण अभियान अन्तर्गत जिल्लाको बिभिन्न स्थानबाट प्रहरीले ठूलो परिमाणमा लागुऔषध बरामद गरेको छ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij