
Mar 29 2025 | २०८१, चैत १६ गते
प्रशासनिक समस्याः स्थानीय तह कर्मचारी संघको ध्यानाकर्षण
काठमाडौं । काठमाडौं महानगरपालिकामा हाल देखिएको प्रशासनिक अस्थिरता र कर्मचारी व्यवस्थापनको अव्यवस्थित अवस्थाप्रति स्थानीय तह कर्मचारी संघ, नेपालले गम्भीर ध्यानाकर्षण जनाएको छ । संघले हालै एक विज्ञप्ति जारी गर्दै महानगरपालिकाको प्रशासनिक प्रणालीमा देखिएको समस्यालाई समाधान गर्न सम्बद्ध निकायसँग आग्रह गरेको छ ।
संघका अनुसार, प्रशासनिक काम कारवाही सहज बनाउनुपर्ने बेलामा कर्मचारीहरू मानसिक तनावमा परिरहेका छन् । संघले प्रशासनिक व्यवस्थापनमा देखिएको यस समस्याले सर्वसाधारणलाई सेवा प्रवाहमा असर पुर्याएको बताएको छ । संघका अध्यक्ष नारायण प्रसाद शर्माद्वारा हस्ताक्षरित विज्ञप्तिमा महानगरपालिकाको समग्र कार्यशैलीमा पारदर्शिता र जवाफदेहिता अभाव रहेको उल्लेख छ ।
संविधानले सबै तहका सरकारहरूबीच सहअस्तित्व, सहकार्य र समन्वयलाई प्राथमिकता दिएको भए तापनि, हाल महानगरपालिकामा देखिएको प्रशासनिक जटिलताले सरकारी सेवा प्रवाहलाई प्रभावित बनाएको संघको भनाइ छ । संघले महानगरपालिकाका प्रमुख प्रशासनिक अधिकारीहरूलाई दीर्घकालीन समाधान खोज्न आग्रह गर्दै, कार्यरत कर्मचारीहरूको मनोबल उच्च राख्न आवश्यक वातावरण सिर्जना गर्नुपर्नेमा जोड दिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij