
Apr 11 2025 | २०८१, चैत २९ गते
काठमाडौं । लागुऔषधको बढ्दो समस्यालाई नियन्त्रण गर्न कोशी प्रदेश प्रहरी कार्यालयले ‘फ्यान (फाइट एगेन्स्ट नार्कोटिक्स)’ अभियान सञ्चालन गर्दै आएको छ । अबको युद्ध, दुव्र्यसनविरुद्ध’ भन्ने नारासहित अभियानलाई तीव्र पारिएको हो ।
विद्यालयस्तरमै ‘फ्यान क्लब’ स्थापना गर्दै बालबालिका, परिवार र समुदायलाई सचेत पार्ने उद्देश्यसहित अगाडि बढाइएको अभियानले उल्लेखनीय उपलब्धिहरू हासिल भइरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ । सुनसरीबाट सुरु भएको दुव्र्यसनविरुद्धको अभियान हाल कोशी प्रदेशमा विस्तारित हुँदैछ ।
अभियानको परिकल्पना सुनसरी प्रहरी प्रमुखका रूपमा कार्यरत रहेका बेला वर्तमान कोशी प्रदेश प्रहरी प्रमुख नायब महानिरीक्षक (डीआईजी) राजन अधिकारीले गरेका थिए ।
अधिकारीको नेतृत्वमा यस अभियानलाई समुदाय प्रहरी साझेदारी कार्यक्रमअन्तर्गत समेटेर अघि बढाइएको थियो ।
जसले समाजमा सकरात्मक परिवर्तन ल्याउन महत्त्वपूर्ण भूमिका खेलेको दाबी गरिएको छ । डीआईजी अधिकारीले अपराध रोकथाम र नियन्त्रणका क्षेत्रमा यो अभियानले ठूलो भूमिका खेलिरहेको बताए । अधिकारीले यस अभियानको माध्यमबाट दुव्र्यसनको समस्या समाधानमा पहल गरेको बताए ।
सुनसरी जिल्लामा अभियानको प्रारम्भिक सफलतापछि यसलाई प्रदेशभरि सञ्चालन गरिएको छ । यहि फागुन २८ गते इटहरीबाट फ्यान प्रदेश अभियान विभिन्न क्षेत्रको सहभागितामा औपचारिक प्रारम्भ गरिँदैछ । अभियानले दुव्र्यसनबाट बचाउन र युवाहरूलाई सकारात्मक दिशातर्फ अघि बढ्न प्रेरणा प्रदान गर्ने अपेक्षा गरिएको छ ।
दुव्र्यसनको कहालीलाग्दो अवस्था युद्धजस्तै खतरनाक भएकाले रोकथाम तथा नियन्त्रणका लागि सबै एकजुट भएर युद्धस्तरकै तयारी, सहकार्य, अग्रसरता र निरन्तरता चाहिने डिआईजी अधिकारीले बताए ।
अभियानको मूल उद्देश्य विद्यालयमा ‘फ्यान क्लब’ गठन गरेर विद्यार्थीहरूलाई लागुऔषधविरुद्ध सचेतना फैलाउने र जोखिम पर्नसक्ने युवालाई नै दुव्र्यसन विरूद्धको सशक्त योद्धा बनाउने भएकाले क्लबमार्फत विद्यार्थीलाई सकारात्मक क्रियाकलापमा संलग्न गराउँदै नकारात्मक क्रियाकलापका रूपमा रहेको दुव्र्यसनको जोखिम न्यूनीकरण गर्न पहल गर्ने गरिएको डीआईजी अधिकारी बताउँछन् ।
अभियानबाट हालसम्म ७० हजारभन्दा बढी विद्यार्थीहरू लाभान्वित भएका छन् । सुनसरी जिल्लाका ७२ वटा विद्यालयमा ‘फ्यान क्लब’ गठन गर्दा ९ सय ३६ जना विद्यार्थीहरू प्रत्यक्ष रूपमा अभियानमा आबद्ध भसकेका छन् । फ्यान क्लबका विद्यार्थीहरूलाई सहजीकरण गर्न तत् तत् बिद्यालयका १ सय ४४ जना सम्पर्क शिक्षकहरू खटाइएको छ ।
फ्यान’ अभियान विद्यालयस्तरमा मात्र सीमित नभइ समुदायमा समेत प्रभावकारी रूपमा विस्तार भएको छ। अभियानअन्तर्गत सार्वजनिक स्थलहरूमा धुम्रपान, मद्यपान तथा लागुऔषध सेवनलाई निरुत्साहित गर्न स्वयंसेवक परिचालन गरिएको छ । धार्मिक तीर्थस्थल वराहक्षेत्र कुम्भ मेलामा ३ सय ९० जना स्वयंसेवक परिचालन गरी ६ हजार भन्दा बढी सचेतनामूलक पर्चा वितरण गरिएको थियो । बराहक्षेत्र नगरपालिकामा ‘दुव्र्यसन निषेधित घर’ घोषणा गर्दै प्रत्येक घरमा सचेतनामूलक स्टिकर टाँस गरिएको छ ।
आदर्श मावि चताराले ‘दुव्र्यसन निषेधित विद्यालय’ घोषणा गर्दै लागुऔषधविरुद्धको अभियानलाई थप सशक्त बनाएको छ । अभियानलाई अझ प्रभावकारी बनाउन कोशी प्रदेश प्रहरीले स्थानीय तह, विद्यालय व्यवस्थापन समिति तथा अभिभावकहरूसँग सहकार्य गर्दै आएको छ । बराहक्षेत्र नगरपालिकाको शिक्षा शाखाले अन्य संघ–संस्था तथा क्लबहरूसँग मिलेर ‘फ्यान क्लब’ गतिविधिहरूलाई समेत समावेश गर्ने योजना अघि सारेको छ । प्रदेश सरकारले यसलाई दीर्घकालीन रूपमा अघि बढाउने योजना बनाएको छ ।
मुख्यमन्त्रीको नेतृत्वमा गौरवको योजनाका रूपमा यसलाई अगाडि बढाउने तयारी छ । प्रदेश सरकार तथा स्थानीय निकायहरूको सहकार्यमा फ्यान अभियानलाई संस्थागत गर्न विभिन्न योजना बनाइएको छ ।
आगामी दिनमा विद्यालयस्तरमा ‘फ्यान’ पुस्तकालय स्थापना गरी लागुऔषध नियन्त्रणसम्बन्धी जानकारी प्रदान गर्ने, ‘फ्यान आलमुनी’ गठन गरी अभियानमा संलग्न विद्यार्थीहरूलाई संगठित गर्ने, ‘फ्यान मोनिटरिङ डेस्क’ स्थापना गरी अभियानको प्रभावकारिता सुनिश्चित गर्ने, ‘फ्यान आईडल’ घोषणा गरी दुव्र्यसनविरुद्ध उल्लेखनीय योगदान पुर्याउने व्यक्तिहरूलाई सम्मान गर्ने, दुव्र्यसन मुक्त विद्यालयहरूको ‘ग्रेडिङ’ प्रणालीअन्तर्गत उत्कृष्ट विद्यालयलाई पुरस्कृत गर्ने र अभिभावकहरूलाई लक्षित गर्दै ‘दुव्र्यसनविरुद्ध आमाहरू’ अभियान सञ्चालन गर्ने योजना अघि सारिएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij