
Apr 23 2025 | २०८२, वैशाख १० गते
काठमाडौँ । त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल (टिचिङ हस्पिटल) मा लामो समयदेखि बन्द बिमासेवा सोमबारदेखि खुलेको छ ।
स्वास्थ्य बिमा बोर्डले लागु गरेको बिमामा सुविधाथैली खारेज गरेपछि यो सुचारु भएको अस्पतालका निर्देशक डा. घनश्याम गुरुङले बताएका छन् । गत भदौदेखि बोर्डले लागु गरेको प्याकेजमा सेवा र सामग्रीको मूल्य अमिल्दो भएपछि अस्पतालले कार्यान्वयन गरेको थिएन । टिचिङमा गत पाँच महिनादेखि स्वास्थ्य बिमा कार्यक्रम बन्द भएको थियो ।
बोर्डका निमित्त कार्यकारी सदस्य डा.सरोज शर्माले सुविधाथैली खारेज गरी प्रत्येक सेवा र सामग्रीको मूल्यअनुसार बिरामीको भुक्तानी दिने निर्णय गरेको छ । गत भदौदेखि बोर्डले सबै अस्पतालको हकमा लागु गरेको यो सेवा टिचिङ अस्पताल महाराजगन्ज र मनमोहन कार्डियोथोरासिक भास्कुलर एन्ड ट्रान्सप्लान्ट सेन्टरले लागु गर्न अस्वीकार गरेका थिए ।
भुक्तानी गर्न बाँकी रकममध्ये २० करोड रूपैयाँको माग दाबी हेर्नै बाँकी छ भने एक करोड रूपैयाँ माग दाबी बोर्डले अस्वीकार गरेको थियो । एकातिर समयमा भुक्तानी नगर्ने र अर्कोतिर मागदाबी रकममाथि बोर्डले एक करोड रुपैयाँ अस्वीकार गर्दा अस्पताल समस्यामा परेको छ । धेरै रकम बाँकी रहँदा अस्पतालको दैनिकीदेखि आपत्कालीन खर्चमा समस्या परेको गुरुङले जानकारी दिए ।
देशैभरीको स्वास्थ्य बिमा मागदाबीको फाइल पुनः बिमाका कर्मचारीले हेरेर पुष्टि गरेपछि मात्र भुक्तानी गर्ने प्रक्रियाले ढिला भएको स्वास्थ्य बिमा बोर्डका निमित्त कार्यकारी निर्देशक डा. शर्माले बताए । बक्यौता रकम तीन महिनाको अन्तरालमा भुक्तानी गर्ने बोर्डको प्रक्रिया छ । डा.शर्माका अनुसार देशभरीको मागदाबीको समयमै भेरीफाइ गर्न नसक्दा समस्या उत्पन्न भएको हो।
टिचिङसहित देशभरका अस्पतालमा गरी बोर्डले ११ अर्ब भुक्तानी गर्न बाँकी छ । हालसम्म कुल जनसंख्याको २७ प्रतिशत नागरिक स्वास्थ्य बिमा कार्यक्रममा आबद्ध रहेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij