Logo

Jun 04 2026 | २०८३, जेठ २१ गते

Jun 04 2026 | २०८३, जेठ २१ गते

‘रोग पालेर होइन, फालेर बाँचौं’

‘रोग पालेर होइन, फालेर बाँचौं’

  • बलेवा । ‘रोग पालेर होइन, फालेर बाचौं’ भन्ने मान्यतालाई सार्थक तुल्याउन बागलुङको बरेङ गाउँपालिकाले विद्यार्थी स्वास्थ्य परीक्षण कार्यक्रम सञ्चालनमा ल्याएको छ । 

    onlinepatrika
    Arghakhachi

    यस कार्यक्रमअन्तर्गत गाउँपालिकाभित्रका सबै विद्यालयमा अध्ययनरत विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न थालिएको हो । बालविकास केन्द्रदेखि कक्षा १२ सम्मका विद्यार्थीलाई स्वास्थ्य संस्थासँगको सहकार्यमा स्वास्थ्य परीक्षण गर्न लागिएको गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत रमेश थापाले बताउनुभयो । 

    AGNI GROUP

    विद्यार्थीको रक्तचाप, ज्वरो, तौल, उचाइ, आँखाको दृष्टि परीक्षण, कानको श्रवणशक्ति परीक्षण र विद्यार्थीको आवश्यकता अनुसार अन्य अङ्गको पनि परीक्षण तथा परामर्श दिने अभियान शुरु भएको उहाँले जानकारी दिनुभयो । गाउँपालिकाले बनाएको कार्यविधिअनुसार विद्यालयले स्वास्थ्य संस्थालाई विद्यार्थीको सङ्ख्या र आवश्यकताको विषयमा जानकारी गराउने छन् । विद्यालयले उपलब्ध गराएको विवरणका आधारमा समय उपलब्ध गराएर विद्यार्थीको स्वास्थ्य परीक्षण गर्न स्वास्थ्य संस्थालाई गाउँपालिकाले निर्देशन दिएको छ । 

    विद्यालय व्यवस्थापन समिति, अभिभावक, जनप्रतिनिधिसमेतको उपस्थितिमा विद्यार्थीको नियमित स्वास्थ्य जाँच र त्यसको फाइदा बेफाइदाको विषयमा जानकारी गराउन निर्देशन दिएको प्रमुख प्रशासकीय अधिकृत थापाले बताउनुभयो । 

    “स्वस्थ नागरिक, स्वस्थ्य समाज र स्वस्थ्य जीवन निर्माण गर्नु हाम्रो दायित्व हो”, गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद शर्माले भन्नुभयोे, “विद्यार्थी सूचना र चेतनाका संवाहक पनि हुन, त्यसैले पनि स्वस्थ समाज निर्माणका लागि विद्यार्थीको स्वास्थ्य परीक्षण कार्यक्रम बनाएका हौं ।” स्वास्थ्य सेवा सर्वसाधारणका लागि अत्यावश्यक सेवा भएकाले विद्यालय तहबाट नै सुदृढ, सेवामूलक र उत्तरदायी बनाउने अभियान थालेको उहाँको भनाइ छ । 

    स्वास्थ्य संस्थाले उपलब्ध गराएको समयमा विद्यालयले विद्यार्थी उपलब्ध गराउने, अभिलेख राख्ने र निरन्तर जाँच गर्नुपर्ने कुरा अभिभावकलाई जानकारी गराउने लक्ष्य पनि राखिएको छ । “कोभिड–१९ को रोकथाम र उपचारका बारेमा पनि स्वास्थ्य परीक्षणका क्रममा विद्यार्थीलाई जानकारी गराइने छ”, प्रमुख प्रशासकीय अधिकृत थापाले भन्नुभयो, “घरघरमा चेतना फैलाउँदै समाजलाई स्वस्थ राख्ने अभियान हो, यो ।” अभियानले स्वास्थ्य क्षेत्रलाई विशेष प्राथमिकता दिएर सवल र स्वस्थ मानव पूँजी निर्माण गर्ने लक्ष्य राखिएको हो । “नेपालको संविधानले प्रत्याभूत गरेको निःशुल्क आधारभूत स्वास्थ्य अधिकार प्रदान गर्नु हाम्रो दायित्व हो”, उहाँले भन्नुभयो,  “विकासको साध्य र साधन दुवै नागरिक हुन्, विद्यार्थी स्वस्थ हुँदा भोलिको समाज स्वस्थ्य हुन्छ र उत्पादकत्व बढ्छ ।” 

    विद्यार्थीको स्वास्थ्य परीक्षणका लागि गाउँपालिकाको स्वास्थ्य शाखाअन्तर्गतका सबै स्वास्थ्य संस्था परिचालन हुनेछन् । विद्यालयले समय तालिका व्यवस्थापनको काम गर्नेछन् । गाउँपालिकाले आवश्यक उपकरण, औषधि प्रदानसहित मूल्याङ्कन र प्रोत्साहनको व्यवस्था गर्नेछ । 

     

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij

    ताजा अपडेट