
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौं । २०८० असार ४ मा केन्द्रीय सत्ता गठबन्धनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजबादी तथा जनता समाजबादी पार्टीलगायत दलहरु थिए । सरकारको नेतृत्वमा भने माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नै थिए । सबैभन्दा ठूलो सत्ता साझेदारको रुपमा रहेको कांग्रेसलाई नै एक्ल्याउने गरी त्यसबेला प्रचण्डको नेतृत्वमा बाँकी दलहरु मिलेर समाजबादी मोर्चा घोषणा गरे ।
त्यसबेला ४ दल मिलेर मोर्चा गठन गरेका थिए । जसमा सत्ता साझेदार माओवादी केन्द्र, एककिृत समाजवादी, जसपा नेपाल र नेत्रविक्रम चन्द नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी थिए भने मोर्चाको अवधारणापत्रमा माओवादीका अध्यक्ष प्रचण्ड, एकीकृत समाजबादीका अध्यक्ष माधव कुमार नेपाल, जसपा अध्यक्ष उपेन्द्र यादव र नेकपाका महासचिव नेत्रविक्रम चन्दे हस्ताक्षर गरेका थिए ।
मोर्चा गठन भएसंगै त्यसबेला 'गठबन्धनभित्रको अर्को गठबन्धन' बनाएको भन्दै कांग्रेसलगायत दलहरु रुष्ट बनेका थिए । तर, तत्कालीन समयमा कांग्रेसलाई दबाबमा राख्न र अप्ठयारो समयमा आफ्नो 'सेफ ल्यान्डिङ'का लागि विशेषतः प्रचण्डले समाजबादी मोर्चा तयार गरेका थिए । समाजवादी मोर्चाको नेतृत्व अहिले नेकपाका अध्यक्ष नेत्रविक्रम चन्द 'विप्लव'ले गरिरहेका छन् । त्यस्तै माओवादी कांग्रेसको गठबन्धन हुँदासम्म सक्रिय रहेको मोर्चा गठबन्धनमा एमालेको इन्टीसंगै निष्क्रिय भएको थियो । विशेष गरी एमाले अध्यक्ष केपी शमाृ ओलीकै अनिच्छाले निष्क्रिय भएको मोर्चा अहिले ओलीकै कारण फेरि सक्रिय भएको छ । गत आइतबारदेखि नै एकीकृत समाजबादीका अध्यक्ष नेपाल र प्रचण्डको पहलमा मोर्चालाई फेरि व्युँताउने गरी कुराकानी भएको थियो । मोर्चाका एक नेताका अनुसार ब्युँताउने भन्दा पनि निष्क्रिय अवस्थामा रहेको मोर्चालाई सक्रिय बनाउने प्रयास भएको हो ।
समाजवादी मोर्चामा रहेका दलका शीर्ष नेताहरुलाई बालुवाटार बोलाएर प्रचण्डले मोर्चा पुनर्गठनबारे छलफल गरे । बैठकपछि प्रचण्डका स्वकीय सचिव एवं नेकपा (माओवादी केन्द्र) का केन्द्रीय सदस्य रमेश मल्लले समाजवादी मोर्चाको पुनर्गठनका विषयमा छलफल केन्द्रित भएको र मोर्चामा पहिले रहेका ४ दलमध्ये जसपा नेपालको फुटका कारण बैठक बस्न नसकेको र मोर्चामा बाँकी तीन दलमा महिन्द्र राय यादव नेतृत्वको नेपाल समाजवादी पार्टी मिसिएको जानकारी दिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij