
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपालमा क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलिया तथा भ्याक्जाइन पीटीवाई लिमिटेड, अस्ट्रेलियाले उत्पादन गरेका कोभिड–१९ खोपको तेस्रो चरणका ट्रायल गर्न तयारी भइरहेको छ ।
चिनियाँ कम्पनी सिचुवान क्लोभर बायोफार्मास्युटिकल्सको भगिनी कम्पनी क्लोभर बायोफार्मास्युटिकल्स अस्ट्रेलियाले उत्पादन गरेको खोपको अनुसन्धानका लागि नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)ले ‘इथिकल अपरुभल’ (नैतिक स्वीकृति) दिइसकेको छ । यस्तै भ्याक्जाइनले उत्पादन गरेको ‘कोभ्याक्स–१९’ खोपको ट्रायलका लागि पनि प्रक्रियाहरु अगाडि बढेको छ ।
नेपालमा ट्रायल गर्नका लागि प्रक्रिया अगाडि बढाइएका दुई खोपमध्ये क्लोभरको खोप कोभ्याक्स अन्तर्गतको हो । कोभ्याक्स विश्व स्वास्थ्य संगठनले युरोपियन कमिसन र फ्रान्सको सहकार्यमा स्थापना गरेको विश्वका गरिब मुलुकहरुमा खोपलगायत कोभिड–१९ नियन्त्रणका लागि आवश्यक सामाग्री तथा प्रविधिको पहुँच पुर्याउने कार्यक्रम हो । यसको ट्रायल काठमाडौंको महाराजगन्जस्थित त्रिवि शिक्षण अस्पताल तथा धुलिखेलस्थित काठमाडौं विश्वविद्यालय अन्तर्गतको धुलिखेल अस्पतालमा गर्न लागिएको हो । यसका लागि दक्षिण कोरियास्थित इन्टरनेसनल भ्याक्सिन इन्स्टिच्युट (आईभीआई)ले सहयोग उपलब्ध गराएको छ ।
यस्तै, अस्ट्रेलियन खोप ‘कोभ्याक्स–१९’ भने एनएचआरसीकै नेतृत्वमा ट्रायल गर्न लागिएको हो भने सम्पूर्ण आर्थिक भार कम्पनी स्वयंकै हुने छ । यसको तयारी प्रारम्भिक चरणमा नै रहेकोले थप जानकारी हाललाई उपलब्ध गराउन नमिल्ने एनएचआरसीका कार्यकारी प्रमुख डा. प्रदीप ज्ञवालीले बताए ।
उनका अनुसार परिषदको इथिकल रिभ्यू बोर्डले क्लोभर बायोफार्मास्युटिकल्सलले प्रस्तुत गरेको खोपको ट्रायललाई स्वीकृति प्रदान गरिसकेको छ भने अस्ट्रेलियन खोपको ट्रायल गर्ने बारेमा प्रशासनिक र प्राविधिक काम भइरहेका छन् । उनले दिएको जानकारीअनुसार क्लोभरको खोपको सम्बन्धमा भने स्वास्थ्य तथा जनसंख्या मन्त्रालयलले अन्तिम निर्णय गरेर मन्त्रिपरिषद बैठकमा प्रस्ताव लैजानुपर्छ । कान्तिपुर दैनिकमा स्वरुप आचार्यले खबर लेखेका छन् ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij