
Apr 18 2025 | २०८२, वैशाख ५ गते
काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)को केन्द्रीय कमिटीको बैठक आज बस्ने भएको छ । उक्त बैठक ललितपुरको बालकुमारीमा बस्ने भएको छ । बैठकमा पार्टीका सबै तहका कमिटी तथा जनवर्गीय संगठनको समीक्षा गरी महाधिवेशनको मिति र स्थान तय गरिनेछ । पार्टी स्थापना भएको करिब दुई वर्षमा पनि महाधिवेशन हुनसकेको छैन ।
महासचिव घनश्याम भुसालका अुनसार पछिल्लो विकसित परिस्थितिमा पार्टीको भूमिका तथा संगठन निर्माणमा भएका गतिविधिबारे मातहतका कमिटीले केन्द्रलाई प्रतिवेदन प्रस्तुत गरेपछि केन्द्रीय कमिटी बैठकबाट महाधिवेशनको टुंगो लगाइनेछ । यही भदौ ७ गतेसम्म चल्ने बैठकमा राजनीतिक परिस्थिति एवं घटनाक्रमका साथै संगठनको पुनःगठन, पार्टीको भूमिकालाई सशक्त बनाउने विषयमा छलफल हुने उनले जनाए ।
पार्टी अध्यक्ष माधवकुमार नेपालले पार्टीको वैचारिक दृष्टिकोणसहितको राजनीतिक प्रतिवेदन तथा महासचिव भुसालले सांगठनिक प्रतिवेदन बैठकमा छलफलका लागि पेस गर्नेछन् । समाजवादी अर्थव्यवस्था कार्यान्वयनमा देखिएका चुनौती तथा सम्भावनाबारे समेत बैठकमा बहस हुने महासचिव भुसालले बताए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij