
Apr 22 2025 | २०८२, वैशाख ९ गते
काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहालको राजीनामा माग्दै नेकपा (एमाले)ले आइतबार पनि राष्ट्रिय सभाको बैठक अवरुद्ध गरेको छ ।
राष्ट्रिय सभाको बैठक शुरू हुने बित्तिकै एमालेका सांसदले विरोध जनाए ।
त्यसपछि अध्यक्ष गणेशप्रसाद तिमिल्सिनाले एमाले सांसद भगवती न्यौपानेलेलाई बोल्न समय दिएका थिए । सांसद न्यौपानेले प्रधानमन्त्री दाहालले राजीनामा दिनुपर्ने अडान यथावत् रहेको बताइन् । प्रधानमन्त्रीको राजीनामा नआउँदासम्म संसद्को कामकारबाही अगाडि नबढाउन उनले आग्रह गरिन् ।
अध्यक्ष तिमिल्सिनाले पटक पटक आफ्नो स्थानमा बस्न एमाले सांसदलाई आग्रह गरे । तर, उनीहरूले उभिएर विरोध जारी राखेपछि अध्यक्ष तिमिल्सिनाले सोमबारसम्मका लागि बैठक स्थगन गरेका छन् ।
प्रधानमन्त्री दाहालले असार १८ गते काठमाडौंमा आयोजित एक कार्यक्रममा भारतीय नागरिक प्रितम सिंहले आफूलाई प्रधानमन्त्री बनाउन सघाएको अभिव्यक्ति दिएका थिए । त्यसलाई लिएर एमालेले प्रधानमन्त्रीको राजीनामा माग गर्दै आएको छ। एमालेको विरोधका कारण लगातार संसद् अवरुद्ध हुँदै आएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij