
Apr 07 2025 | २०८१, चैत २५ गते
काठमाडौँ । विराटनगरबाट लागूऔषध गाँजासहित दुई भारतीय नागरिकलाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा भारत अररिया दक्षिण महेश्वरीका २३ वर्षीय सुनीलकुमार साह र अररिया विसनपुरका ३९ वर्षीय प्रमोद यादव रहेका छन् ।
विराटनगर महानगरपालिका–१५ स्थित रानी बसपार्कबाट तीन किलो गाँजा र एउटा भारतीय मोटरसाइकलसहित उनीहरुलाई बिहीबार राति प्रहरीले नियन्त्रणमा लिएकोहो । भारतको जोगवनीतिर जाँदै गरेका साहलाई खानतलासी गर्दा उनले बोकेको झोलाबाट ३ किलो गाँजा बरामद भएको सशस्त्र प्रहरी बल मोरङले जनाएको छ ।
सोधपुछका क्रममा साहले उक्त गाँजा आफूलाई प्रमोद यादवले दिएको र भारततिर लैजान भनेको बताएका थिए । सोहीअनुसार यादवलाई बीआर ३८ सी २६०६ नम्बरको मोटरसाइकलसहित विराटनगर–१५ बाटै प्रहरीले पक्राउ गरेको थियो ।
उनले पक्राउ परेकाहरुको साथबाट २ वटा भारतीय आधार कार्ड र नेपाली १ हजार २ सय १० रूपैयाँसमेत बरामद भएको बताए । दुवै जनालाई बरामद भएको गाँजा तथा नियन्त्रणमा लिएको मोटरसाइकलसहित आवश्यक अनुसन्धान र कारबाहीका लागि इलाका प्रहरी कार्यालय रानीमा बुझाइएको छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij