
Apr 21 2025 | २०८२, वैशाख ८ गते
काठमाडौँ । लागूऔषध खैरो हेरोइन (ब्राउन सुगर) ओसारपोसार गर्न भरियाको प्रयोग गरेको आरोपमा नेपाल प्रहरीका सहायक हवल्दार पक्राउ परेका छन् । पक्राउ पर्नेमा विराटनगर महानगरपालिका-१४ मा बस्दै आएका सहायक हवल्दार ३१ वर्षीय अमरनाथ यादव रहेका छन् ।
भारतको जोगवनीबाट नेपालतर्फ खैरो हेरोइन भित्राउन भरियाको प्रयोग गरेको खुलासा भएपछि लागूऔषध नियन्त्रण ब्युरो विराटनगरबाट खटिएको टोलीले उनलाई पक्राउ गरेको छ । वडा प्रहरी कार्यालय विराटनगर दरबन्दी भएका यादव विराटनगरस्थित प्रदेश १ प्रहरी कार्यालयमा कार्यरत थिए ।
प्रदेश प्रहरी प्रवक्ता एसपी नवीनराज राईका अनुसार खैरो हेरोइनसहित पक्राउ परेका विराटनगर-१५ का २० वर्षीय नजाम खानलाई सोधपुछका क्रममा उक्त लागूऔषध प्रहरी सहायक हवल्दार यादवले जोगवनीबाट ल्याउन लगाएको बताए ।
सोहीआधारमा यादवलाई पक्राउ गरिएको उनले जानकारी दिए । खानतलासी गर्दा खानको साथबाट १ सय २० मिलिग्राम खैरो हेरोइन बरामद भएको थियो ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij