Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडैं । सिरहाको गोलबजारबाट बरामद भएको दुर्लभ वन्यजन्तु सालक संरक्षणका लागि लहान नगरपालिका–१५ स्थित कोइरालो सामुदायिक वन क्षेत्रमा रहेको वन्यजैविक प्राणी उद्यान केन्द्रलाई जिम्मा लगाइएको छ ।
सशस्त्र प्रहरी बेसक्याम्प गोलबजारले तस्करी भइरहेको अवस्थामा गत आइतबार बरामद गरेको सालक संरक्षणका लागि वन्य जैविक प्राणी उद्यानलाई जिम्मा लगाएको डिभिजन वन कार्यालय लहान सिरहाका प्रमुख सुभाषचन्द्र दासले जानकारी दिनुभयो ।स१०प ३३३० नंको मोटरसाइकलमा लोड गरिएको अवस्थामा सशस्त्र प्रहरीको गस्ती टोलीले बाँसको चोयाले बनेको पेरुङ्गोमा उक्त सालक बरामद गरेको थियो । गस्तीमा रहेको प्रहरी टोलीलाई देखेपछि तस्कर मोटरसाइकल छाडेर भागेका थिए । सालक के प्रयोजनका लागि कसले तस्करी गरिरहेको भन्ने विषयमा आवश्यक अनुसन्धान भइरहेको डिभिजन वन कार्यालय लहान सिरहाले जनाएको छ ।
यस्तै डिभिजन वन कार्यालयको टोलीले सिरहाको गोलबजार नगरपालिकाको मुक्सारबाट ठूलो परिमाणमा अवैध काठ बरामद गरेको छ । डिभिजन वन कार्यालय लहान सिरहा र सबडिभिजन वन कार्यालय गोलबजारको संयुक्त टोलीले मुक्सारस्थित जङ्गल क्षेत्रमा तस्करहरूले लुकाइछिपाइ राखेको अवस्थामा साखु र अन्य जातका गरी ८९ थान चिरान काठ बरामद गरेको छ । बरामद काठ बजार मूल्य करिब रु चार लाखभन्दा बढी रहेको प्रमुख दासले बताउनुभयो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij