
Apr 09 2025 | २०८१, चैत २७ गते
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले झण्डै दुई तिहाइ बहुमतको कम्युनिस्ट पार्टीलाई माधव नेपाल र पुष्पकमल दाहाल ‘प्रचण्ड’हरुले फुटाएर ध्वस्त पार्ने प्रयास भएको बताएका छन् ।
मंगलबार मनमोहन अधिकारीको २३ औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यसो बताएका हुन् ।
सो कार्यक्रमलाई सम्बोधन गर्दै, अध्यक्ष ओलीले भने, ‘मनमोहन अधिकारीले नेतृत्व गरेको पार्टीलाई हामीले झण्डै दुई तिहाइको अवस्थामा पुर्याएका थियौ तर केही दुष्ट र स्वार्थीहरूले ध्वस्त बनाउने प्रयास गरे, तात्कालिक रूपमा उनीहरूले पार्टीलाई क्षति पुर्याए ’ ।
विगतमा पुष्पलाल र मनमोहनलाई पनि यस्तै षड्यन्त्रपूर्ण ढङ्गले हटाइएको बताउँदै रायमाझी पथमा माधव प्रचण्ड लागेको अध्यक्ष ओलीले बताए ।
‘अहिले हेर्यो भने त्यही ०१७ सालको इतिहास दोहोर्याउन खोजेको देखिन्छ । अलिकति परिस्थिति फरक छ, त्यसको स्वरूप फरक छ’, उनले भने, ‘प्रतिगमन गर्दा खेरी दक्षिणपन्थी र वामपन्थी मिलेकै छन् । उनले त्यसवेलाको प्रतिगमनमा केशरजंग रायमाझी प्रतिगमनमा सहभागी रहेको र अहिले माधव प्रचण्ड रहेको दाबी गरे ।
‘त्यतिवेला केशरजंग रायमाझी सहभागी थिए, प्रतिगमनमा अहिले सहभागी प्रचण्ड माधव छन् । फरक के थियो भने त्यसबेला कम्युनिस्ट पार्टी कमजोर थियो’, ओलीको भनाइ छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij