
Apr 10 2025 | २०८१, चैत २८ गते
काठमाडौँ । तनहुँमा नेकपा एमालेले प्रमुख उपप्रमुखको टुंगो लगाएको छ । नेपाली कांग्रेसबाट साधारण सदस्य समेत नरहने गरेर कारबाहीमा परेका पूर्व सहमहामन्त्री गोविन्दराज जोशी समूहसँग तालमेल गर्ने निर्णयसहित एमालेले स्थानीय तहको प्रमुख उपप्रमुखको टुंगो लगाएको हो ।
शुक्लागण्डकी नगरपालिकाको मेयरमा मुक्ति तिम्लिसिना र उपमेयरमा फुलमाया वाग्ले, भिमाद नगरपालिकाको मेयरमा दधिराज सुवेदीलाई एमालेले उम्मेदवार बनाएको छ । भने शारदा खनाल उपमेयरमा दोहोरिएकी छन्।
भानु नगरपालिकाको मेयरमा सिताराम बजगाईंलाई एमालेले उम्मेदवार बनाएको छ । भानुमा उपमेयर जोशी समूहले पाउनेछ । व्यासको मेयर पनि जोशी समूहले लिनेछ । व्यासको उपमेयरमा बसुन्धरा घर्तीलाई एमालेले उम्मेदवार बनाएको छ ।
देवघाट गाउँपालिकाको अध्यक्षमा दुर्गबहादुर थापा दोहोरिएका छन् । उपाध्यक्षमा गत निर्वाचनमा एक मतान्तरले पराजित भएकी सावित्री न्यौपानेले टिकट पाएकी छन् । आबुखैरेनी गाउँपालिकाको अध्यक्षमा ऋषि केसीले टिकट पाएका छन् । यहाँ उपाध्यक्ष जोशी समूहलाई दिने सहमति छ । बन्दीपुर गाउँपालिकाको अध्यक्षमा सुरेन्द्र थापा उम्मेदवार हुनेछन् । यहाँ पनि उपाध्यक्ष जोशी समूहले पाउनेछन् ।
यस्तै घिरिङ गाउँपालिकाको अध्यक्षमा होमबहादुर थापा र उपाध्यक्षमा राधा अधिकारीले टिकट पाएका छन् । ऋषिङ गाउँपालिकाको अध्यक्षमा हरिराज कँडेललाई उम्मेदवार बनाउने निर्णय भएको छ ।
म्याग्दे गाउँपालिकाको अध्यक्षमा श्रीप्रसाद श्रेष्ठ र उपाध्यक्षमा रत्ना घिमिरेलाई एमालेले उम्मेदवार बनाएको छ । दुवै उम्मेदवार सोही पदमा गत निर्वाचनमा पराजित भएका थिए ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij