
Apr 28 2025 | २०८२, वैशाख १५ गते
काठमाडौँ । भारतको तीनदिने औपचारिक भ्रमणमा रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले धार्मिक नगरी वाराणसीस्थित ललिताघाट, पशुपतिनाथ मन्दिर परिसरमा निर्माण गरिने वृद्धाश्रमको भूमिपूजनसहित शिलान्यास गरेका छन् । सो अवसरमा उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको उपस्थिति थियो ।
नेपाल सरकारले वृद्धाश्रमका निम्ति एक करोड विनियोजन गरेको छ । यद्यपि, भवन निर्माणको ठेक्का लगाउन भने बाँकी छ । नेपालबाट तीर्थयात्रामा त्यहाँ आउनेहरुका लागि उक्त वृद्धाश्रम निर्माण गर्न लागिएको हो ।
उक्त भवनमा ३५ कोठा रहनेछन् । भवन नेपाली शैलीको हुने जनाइएको छ । पुरातत्व विभागले भवनको नक्साङ्कनको काम गरिरहेको छ ।
यसैबीच प्रधानमन्त्री देउवाको सम्मानमा मुख्यमन्त्री आदित्यनाथले आज दिवाभोजको आयोजना गरेका छन् । त्यसअघि उनीहरुबीच पारस्परिक हित र चासोका विविध विषयमा विचारविमर्श भएको थियो ।
प्रधानमन्त्री देउवा आजै अपराह्न त्यहाँबाट नयाँदिल्लीका लागि प्रस्थान गर्नेछन् भने साँझ नयाँदिल्लीबाट काठमाडौँ प्रस्थान गर्ने कार्यक्रम छ ।
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij