
Apr 24 2025 | २०८२, वैशाख ११ गते
समान आर्थिकस्तर, इच्छा, रुचि र आवश्यकता भएका तथा एउटा निश्चित भौगोलिक सीमाभित्र बसोबास गर्ने वा समान प्रकृतिका कार्यमा संलग्न भएका मानिसहरूले आपसी हितका निम्ति आर्थिक कारोबार गर्न स्थापित गरिएको संस्थागत अवधारण हो सहकारी । सहकारीमा सामूहिक हितको भावना हुन्छ । तर आजभोलि यही सहकारी भन्ने शब्दको सहयोग लिएर सीमित माफिया र दलाली कार्यमा लिप्त केही व्यक्तिहरूले फाइदा उठाइरहेका छन् ।
सदस्यहरूद्वारा नियन्त्रित तथा सदस्यहरूकै हितमा सञ्चालित भइ व्यवसाय गर्न हुने गरी स्थापित सहकारीहरू आजभोलि केही माफिया नियन्त्रित व्यवसायको हित प्रवद्र्धनमा डोरिन पुगेका छन् । हरेक अर्थिक वर्ष सुरु भएको ६ महिनाभित्र प्रत्येक सहकारी साधारणसभा गरिसक्नुपर्ने व्यवस्था भएपनि वर्षौसम्म पनि साधारणसभा नगर्ने, गरिहाले पनि सदस्यहरूलाई सबै जानकारी पाउनबाट वञ्चित गर्ने लगायतका कार्यहरू गरिरहनाले सहकारी क्षेत्र बदनाम हुँदै गएको छ ।
बदनियत बोकेकाहरू सहकारीमा हाबी हुँदा धेरै सर्वसाधारणको पैसा डुबेको पनि छ । सिभिल सहकारी, कुमारीपाटीस्थित गुडविल सहकारी प्रकरण यसको पछिल्लो उदाहरण हो । बढी ब्याज दिने प्रलोभनमा सर्वधारणबाट पैसा असुल्ने, अनि त्यही पैसा जग्गा प्लटिङमा प्रयोग हुने गरेको कुरा कसैसामु छिपेको छैन् । जग्गाको प्लटिङ गर्नेहरूले नै मापदण्ड विपरीत सहकारी चलाइरहेका छन् ।
पछिल्लो समयमा धेरै सहकारीहरूले सदस्यहरूको पैसा कुम्ल्याएर भाग्न थालेपछि सहकारीप्रति आम नागरिकहरूको वितृष्णा बढेको छ । ५÷७ बर्ष अगाडि कमजोर आर्थिकस्थित भएका केही व्यक्तिहरू सहकारीमार्फत आमसर्वसाधारणहरूको हैसियत अविश्वसनीयरूपमा चुलिन थालेको छ । यसको अन्तर्यमा सहकारीमा सङ्कलित पैसा मनमौजी रूपमा परिचालन गरेर व्यक्ति लाभ लिने प्रवृति रहेको सरोकारवालाहरूको बुझाइ छ । यस्ता व्यक्तिहरू नव धनाढ्यका रूपमा आजभोलि समाजमा विशेष परिचय बनाउन सफल भएका छन् ।
यस्तो प्रवृति भएका, व्यक्तिगत आचरण सही नभएका, मानसिक सोच खराब भएका व्यक्तिहरूको दबाव र प्रभावबाट प्रभावित व्यक्तिहरू सहकारीमा नेतृत्व गर्ने तहमा पुग्दा सहकारीमा समस्या आउने गरेको छ । अर्थिक रूपमा पहुँच भएका व्यक्तिहरूको व्यवसायिक हितमा सहकारीको शीर्षमा पुगेका यस्ता व्यक्तिहरू सहजै परिचालित हुँदा सहकारीको संस्थागत अर्थिक सुशासन कायम हुन सक्दैन् र सकेको छैन् । आर्थिक सुशासन र सहकारीको हित बमोजिम समान हित संवद्र्धन गर्न बनेको सहकारीका सदस्यहरूको स्वार्थ प्रतिकूल हुने गरी सहकारीले भूमिका प्रदर्शन गरेका कारण सहकारी क्षेत्रप्रति आम नागरिकको वितृष्णा बढ्दै गएको छ । सञ्चालक समितिमा रहेका कुनै एक वा दुुई व्यक्तिको इच्छाअनुसार व्यक्तिगत रूपमा चलाइएको संस्थाहरूमा मनपरी रूपमा एकै व्यक्तिलाई उसको आर्थिक हैसियत भन्दा बढी रकम लगानी गर्ने प्रवृति बढ्दो छ ।
सामुहिक हितका लागि भन्दा पनि केही सीमित व्यक्तिहरूको आकांक्षा , मानोकांक्षामा केन्द्रित रहेर सदस्यहरूसंग पैसा कुम्ल्याउने, सोही पैसा जग्गा जमिनको प्लटिङ र दलाली गर्ने कार्यमा खर्चिने, सीमित व्यक्तिहरूले लाभ हासिल गर्ने प्रवृति रहेसम्म सहकारीबाट सहकारीका आम सदस्यहरूको हित हुन सक्ने अवस्था छैन र हुँदैन ।
विकेन्द्रीकृत पुँजीलाई केन्द्रीकृत गरेर सदस्यहरूको आयआर्जन वृद्धि गर्न खुलेको सहकारी अहिले केही टाठाबाठा सञ्चालकहरूलाई नव धनाढ्य बनाउने, उनीहरूलाई नवसामन्तका रूपमा स्थापित गर्ने माध्यम बनेको छ । यसले सिङ्गो सहकारी अभियानलाई बदनाम गरिरहेको छ । आफूलाई नेताका रूपमा स्थापित गर्ने सहकारीका अभियान्ताहरूमा सहकारी क्षेत्रका विकृति विसङ्गतिको अन्त्य गर्नु भन्दा पनि सहकारी संघको नेतृत्व गर्दै कुनै राजनीतिक दलमा स्थापित हुने अभियाप्र रहेको देखिन्छ । यस्ता अभियान्ताबाट न त सहकारीको विकास हुन्छ, न त यस क्षेत्रको विकृतिको अन्त्य नै ।
सहकारीमा कारोबार गर्ने सबैलाई सहकारीको विधि, पद्दति, ऐन, नियम र कानुनको ज्ञान हुँदैन । ज्ञान, सिप र क्षमता भएकाहरू पनि यस क्षेत्रलाई भ¥याङ बनाएर राजनीति गर्नेमा लिप्त छन् । धेरै ब्याज पाउने लोभ देखाइ सोझासाझा व्यक्तिहरूलाई फसाउनेहरू कानुनी कठघरामा आइपुग्दा धेरै ढिला भइसकेको हुन्छ । सहकारी संस्थाहरूमा पारदर्शीता र सुशासन अभियन्ता भनिने सहकारीका नेताहरूका लागि भाषण गर्ने मन्त्र भएको छ । यसले सहकारी क्षेत्रको उन्नति र प्रगति हुँदैन ।
केही सीमित व्यक्तिको आर्थिक लाभ हुनु मात्रै सहकारीले परिकल्पना गरेको उपलब्धि हैन । सहकारीले सम्पूर्ण सदस्यहरुको. हित गर्न सक्नुपर्छ । उनीहरूको आर्थिक क्षमता अभिवृद्धि गर्दै सदस्यहरूमा रोजगार, सिप र दक्षताको वृद्धि गर्नु पनि सहकारीको महत्वपूर्ण काम हो । उपलब्ध शेयर पुँजी, बचत सङ्कलन र जगेडा रकमको आधारमा आवश्यक केही रकम तरलता राखेर सहकारीका ऐन, निमय, सिद्धान्त र मूल्यमान्यतालाई अनुशरण गरेर विधिसम्मत र पारदर्शित रूपमा ऋण लगानी गर्नु महत्वपूर्ण कदम हुन्छ । यसका लागि सहकारी संस्थाका लागि खुलेका संघ/महासंघहरूले आवश्यक व्यवस्थापन गर्नु आवश्यक छ ।
अत: आमनागरिकको हितका लागि माफियामुक्त सहकारी अहिलेको आवश्यकता हो । यसका लागि सहकारीको हित र प्रवद्र्धनका लागि स्थापित संघहरूले पनि जिम्मेवार र जवाफदेही भूमिका निर्वाह गर्नु आजको आवश्यकता हो । सहकारी सदस्य नियन्त्रित व्यवसाय हो तर त्यसैका आधारमा सहकारीमा छिर्ने माफियाहरूको गलत मनासायलाई निरुत्साहित गर्नका लागि संघहरूले यो आवश्यक नीति तथा कार्ययोजना बनाउनु आवश्यक छ ।
सदस्यको रकम तुरुन्तै फिर्ता गर्नसक्ने गरी सहकारीले केही रकम संस्थामै राख्ने व्यवस्था हुनुपर्छ । यसो गर्दा सदस्यहरूमा संस्था प्रति विश्वास हुन्छ । सहकारी सञ्चालन कसरी भएको छ भनेर सदस्यहरूले चासो राख्ने र वियषगत संघ, जिल्ला सहकारी संघले पनि अनुगमन, सहजीकरण र व्यवस्थापनका बारेमा उचित सल्लाह, सुझाव दिँदै निरीक्षण समेत गर्ने हो भने सहकारीहरू भाग्ने अवस्थामा पुग्ने छैनन् ।
२०७८ चैत ७ गतेको अनलाइन पत्रिकामा प्रकाशित
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij