Logo

Apr 30 2025 | २०८२, वैशाख १७ गते

Apr 30 2025 | २०८२, वैशाख १७ गते

उपत्यकामा बढ्दै फोहोरको डंगुर

उपत्यकामा बढ्दै फोहोरको डंगुर

  • काठमाडौं/ काठमाडौं उपत्यकामा फेरि फोहोरको डंगुर थुप्रिन थालेको छ। पासाङल्हामु राजमार्गका स्थानीयबासीको अबरोधका कारण उपत्यकाका फोहोर थुप्रिन थालेको हो । स्थानीयबासीको अवरोधका कारण फागुन २५ गतेदेखि काठमाडौं उपत्यकामा फोहोर उठ्न छाडेको हो । जसले गर्दा काठमाडौं उपत्यकाका सडकछेउमा फेरि फोहोरको डंगुर थुप्रिन थालेको छ ।

    images
    images
    images

    हाल फोहोर विसर्जन गरिएको स्थान नुवाकोटको सिसडोलसम्म पुग्ने बाटो मर्मतको काम समयमा सम्पन्न नगरेको भन्दै पासाङल्हामु राजमार्गका स्थानीयबासीले अवरोध गर्दै आएका छन् । नुवाकोटको बञ्चरे डाँडाका स्थानीयले फोहोर फाल्न नदिने भएपछि समस्या आएको काठमाडौं महानगरपालिका वातावरण विभागले जनाएको छ ।

    वातावरण विभागकी प्रशासनिक प्रमुख सरिता राईका अनुसार पछिल्लो समय फागुन १ देखि १४ गतेसम्म स्थानीयले अवरोध गर्दा फोहोर फाल्न सकिएको थिएन । फागुन १४ मा नुवाकोट र धादिङका स्थानीयसँग छलफल गरेपछि फोहोर फाल्न दिने सहमति भएको थियो । सहमतिपछि गएको फागुन २४ सम्म उपत्यकाभित्रको फोहोर नियमित रूपमा उठ्न थालेको थियो । तर, २५ फागुनदेखि पुनः स्थानीयले मुड्कु–तीनपिप्ले सडकखण्ड अवरोध गरेपछि महानगरभित्रको फोहोर उठ्न नसकेको हो । उनले भनिन्, ‘नुवाकोट र धादिङका स्थानीयले बञ्चरेमा फोहोर फाल्न नदिने भनेर मुड्कु;तीनपिप्ले सडकखण्ड अवरोध गरेपछि फोहोर उठाउन समस्या भएको थियो । स्थानीयले फोहोर नफाल्न भन्दै फोहोरको गाडीलाई जान नदिएपछि समस्या आयो । यद्यपि, बुधबारबाट फेरि फोहोर फाल्न दिने भनेर सहमति भइसकेको छ । तीन/चार दिनभित्र सबै उठ्छ ।

    आठ वर्षमा पनि बनेन बाटो, समस्या सधैं उस्तै

    बि.सं. २०७० सालदेखि सुरु गरिएको बाटो अहिलेसम्म बन्न सकेको छैन । जसका कारण त्यहाँ पटकपटक स्थानीयबासीले आन्दोलन गरेको कारण फोहोर विसर्जनमा अवरोध हुँदै आएको छ । महानगरपालिकाले सडक विभागलाई सडकको काम तत्काल पूरा गरी स्थानीयबासीको अवरोध हटाइदिन माग गर्दै आए पनि समयमै काम सम्पन्न नहुँदा पटक–पटक समस्या आउने गरेको छ । १८ स्थानीय तहको फोहोर विसर्जनका लागि दीर्घकालीन समाधानका प्रयास हुन नसक्दा पटकपटक समस्या उत्पन्न भएको प्रमुख राईले जानकारी दिइन् । हाल बञ्चरे डाँडामा दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माण भइरहेको र निर्धारित समयमा काम सम्पन्न नहुँदा समस्या भएको उनको भनाइ छ । काठमाडौं उपत्यकाका १८ स्थानीय तहको फोहोर नुवाकोटस्थित सिसडोलमा व्यवस्थापन हुँदै आएको छ । उक्त स्थान पनि भरिएकाले फोहोर व्यवस्थापनमा थप समस्या हुन थालेको हो ।

    हाल फोहोर व्यवस्थापन भइरहेको स्थानभन्दा दुई किलोमिटर पर बञ्चरे डाँडामा निर्माणाधीन दीर्घकालीन फोहोर व्यवस्थापनस्थल निर्माणको काम निर्धारित समयमा सम्पन्न हुन नसक्दा पनि समस्या आएको महानगरको भनाइ छ ।

    पटकपटक दोहोरिन्छ समस्या

    काठमाडौं उपत्यकामा फोहोर उठ्न नसक्ने समस्या नौलो होइन । बेलाबेलामा स्थानीयको अवरोधका कारण फोहोर थुप्रिने गरेको छ । यसपटक तीन महिनायता पटक–पटक गरी महिना दिनभन्दा बढी उपत्यकाको फोहोर उठ्न सकेन । बुधबार फोहोर उठ्न दिने सहमति त भयो तर, त्यो कहिलेसम्म भन्ने यकिन छैन । ठेकेदार कम्पनीले गरेको प्रतिबद्धता पूरा नभए पुनः अवरोध गर्ने आन्दोलनरत पक्षले लिखितै सहमति गरेका छन् । वातावरण विभाग प्रमुख राईका अनुसार बाटो मर्मत नभएको खण्डमा फेरि आन्दोलन गर्ने स्थानीयले चेतावनी दिएका छन् । उनले भनिन्, ‘ठेकेदार कम्पनीले जसरी पनि यसपटक मर्मत गर्छु भन्ने प्रतिबद्धता जनाएको छ । अन्यथा कानुनबमोजिम सजाय भोग्न तयार रहेको भनेर पनि लिखित सहमति गरिएको छ ।

    ; काठमाडौं उपत्यकामा दैनिक एक हजारदेखि १२ सय टनसम्म फोहोर निस्कने गरेको महानगरपालिकाले जनाएको छ । महानगरपालिकाले नियमित रूपमा उपत्यकाको फोहोर विसर्जन गर्ने हो भने केन्द्र सरकारले छिटोभन्दा छिटो दीर्घ समाधान खोज्न आवश्यक रहेको भन्दै अन्यथा आगामी बर्खाको समयमा ठूलो समस्या आउने जनाएको छ । एक सातादेखि फोहोर उठ्न नसक्दा उपत्यकाको मुख्य चोकमा फोहर थुप्रिन थालेको छ । चोक(चोकमा थप्रिएको फोहोरका कारण दुर्गन्ध फैलिएको छ । 

    फेसबुक प्रतिक्रिया

    थप समाचार

    पढ्नै पर्ने पत्रिका

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij

    © 2025 All right reserved to onlinepatrika.com | Site By : Sobij