Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । त्रिभुवन विश्वविद्यालयले विद्यार्थीलाई परीक्षा केन्द्र परिवर्तन गर्न दिएर स्थागित परीक्षा सञ्चालन गर्ने भएको छ । त्रिविले विद्यार्थीको पायक पर्ने केन्द्रबाट परीक्षा लिने मोडालिटीमा परीक्षा सञ्चालन गर्ने भएको हो । कोरोना महामारीका कारण स्थगित स्नातक तह प्रथम वर्षको वार्षिक परीक्षा अनलाइनबाट सम्भव नदेखिएपछि विद्यार्थी जुन जिल्लामा पुगेको छ त्यहीँबाट परीक्षा लिने मोडालिटी बनाइएको हो ।
त्रिभुवन विश्वविद्यालयका परीक्षा नियन्त्रक पुष्पराज जोशीले विद्यार्थीलाई अब आफू अध्ययन गरेको क्याम्पसमा आएर परीक्षा दिनुपर्ने बाध्यता नरहेको बताउँदै परीक्षा केन्द्र परिवर्तन गरेर पायक पर्ने स्थानबाट परीक्षा दिन पाउने गरी व्यवस्था मिलाइएको जानकारी दिए ।
१९ महिनाभन्दा बढी समयदेखि एउटै वर्षमा अध्ययन गर्न बाध्य स्नातक प्रथम वर्षका विद्यार्थीको परीक्षा साउनभित्रै लिने तयारीअनुसार नै विश्वविद्यालयले परीक्षामा यस खालको मोडालिटी बनाएको हो ।
त्रिविमा हाल स्नातक तहमा नयाँ र पुरानो गरी दुई समूहका विद्यार्थी छन् । त्रिविमा सामान्य अवस्थामा परीक्षा केन्द्र परिवर्तन गर्न र विद्यार्थीले परीक्षा केन्द्र रोज्नसमेत नपाउने प्रावधान छ ।
परीक्षा नियन्त्रक जोशीले विद्यार्थीले परीक्षा फाराम भर्नसमेत अनलाइनबाट सम्भव नभएको गुनासो आएपछि आफूहरूले पुरानो परिपाटीबाट तीन घण्टाकै परीक्षा लिने निचोडमा पुगेको जानकारी दिए ।
विश्वविद्यालयमा हाल स्नातक तह पहिलो वर्षमा दुई लाख ५० हजारको हाराहारीमा विद्यार्थी छन् । ती विद्यार्थीको पठनपाठन वार्षिक परीक्षा प्रणालीका आधारमा भइरहेको छ । त्रिविले असार पहिलो सातासम्म परीक्षाको कार्यतालिका सार्वजनिक गर्ने तयारी गरेको छ । यो समाचार गोरखापत्र दैनिकमा छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij