Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । बाँकेकी डुडुवामा एक युवतीले आफूले मन पराएको प्रेमीलाई बोलाइदिनुपर्ने भन्दै त्यहाँ रहेको ठूलो मोबाइलको टावरमा चढेर आफन्त र स्थानीयलाई आश्चर्यमा पारिन् ।
बाँकेको डुडुवा गाउँपालिका–२ जाफरपुरवामा स्थानीय १८ वर्षीय ती युवतीले ‘मेरो प्रेमीलाई बोलाइदेऊ भन्दै मोबाइल टावरमा चढिन्, प्रेमीले बोलाएपछि मात्रै तल झर्ने अडान राखेपछि आफन्त र स्थानीयलाई समस्या परेको थियो ।
‘किशोरी मोबाइल टावरमा चढेपछि तनावपूर्ण अवस्था सिर्जना भएको हो, आफन्त र स्थानीयले तल झराउन धेरै आग्रह गरेर नमानेपछि प्रहरीलाई बोलाएर झार्नुपरेको हो, बिहानभर टावरमा बसेकी उनलाई प्रहरी आएर झारेर लगेको हो’ स्थानीय राकेश शर्माले बताए । ती किशोरीले आफ्नो प्रेमीलाई घटनास्थलमा बोलाएपछि मात्रै तल झर्ने अडान लिएको सूचना पाएपछि प्रहरीको टोली त्यहाँ पुगेर उनलाई झारेको थियो ।
घटनापछि स्थानीयवासी, अभिभावक तथा प्रहरी टोली सो स्थानमा पुगेर किशोरीलाई सुरक्षित रूपमा तल झार्ने प्रयास गरेका थिए तर उनले नमानेपछि प्रहरी नै पुगेर झारेको हो।
टावरमाथि चढेकी किशोरीलाई सम्झाई बुझाइ झारिएको र अहिले अस्पतालमा राखिएको जिल्ला प्रहरी कार्यालय बाँकेका सूचना अधिकारी जीवराज थापाले जनाए ।
‘स्थानीयको आग्रहपछि पुगेको हाम्रो टोलीले झारेको हो । अहिले उपचारमा पठाइएको छ । प्रेमीलाई बोलाएपछि मात्रै झर्ने भनेर टावरमा चढेकी रहिछन्, हामीले अरू विषय जान्ने कुरा भएन, उनको अवस्था हेरेर अस्पतालमा लगेर राखेका छौँ’ उनले भने । ती युवतीले स्थानीयसँग प्रेमीले बेवास्ता गरेपछि जस्तोसुकै आन्दोलन गर्ने सुनाएकी थिइन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij