Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यसँग बेलायत सरकारकी इन्डोप्यासिफिक मामिलामन्त्री सीमा मल्होत्राले शनिबार रुपन्देहीको बुटवलमा शिष्टाचार भेटवार्ता गर्नुभएको छ ।
भेटवार्ताका क्रममा नेपाल र संयुक्त अधिराज्य बेलायतबिच रहँदै आएको ऐतिहासिक तथा मैत्रीपूर्ण सम्बन्ध, विकास साझेदारी तथा लुम्बिनी प्रदेशको विकासका प्राथमिकताबारे छलफल भएको थियो । त्यस अवसरमा मुख्यमन्त्री आचार्यले लुम्बिनी प्रदेश सरकार दिगो, समावेशी तथा रोजगारमुखी आर्थिक वृद्धिमा केन्द्रित रहेको बताउनुभयो । उहाँले उत्पादनमुखी लगानी प्रवर्धन, कृषि आधुनिकीकरण, पर्यटन विकास, औद्योगिक विस्तार, पूर्वाधार निर्माण तथा डिजिटल नवप्रवर्तनमार्फत प्रदेशको अर्थतन्त्र रूपान्तरण गर्ने प्रदेश सरकारको लक्ष्य रहेको उल्लेख गर्नुभयो ।
मुख्यमन्त्री आचार्यले बुद्धको जन्मस्थल लुम्बिनीले विश्वलाई शान्ति, सहिष्णुता र करुणाको सन्देश प्रवाह गरिरहेको उल्लेख गर्दै दिगो विकास, लगानी प्रवर्धन, पर्यटन विकास तथा मानव पुँजी विकासमा संयुक्त अधिराज्यसँग थप सहकार्य विस्तार हुने विश्वास व्यक्त गर्नुभयो । उहाँले लुम्बिनीको विकासका लागि सङ्घीय सरकारसँग मिलेर प्रदेश सरकारले पनि पर्यटन प्रवर्धनका कार्यक्रम गर्दै आएको जानकारी गराउनुभयो ।
भेटमा संयुक्त अधिराज्यको सहयोग विशेष गरी मानव पुँजी विकास, सिप अभिवृद्धि, स्वास्थ्य प्रणाली सुदृढीकरण, जलवायु परिवर्तन अनुकूलन, कृषि रूपान्तरण, दिगो पूर्वाधार विकास, सुशासन तथा डिजिटल रूपान्तरणका क्षेत्रमा प्रभावकारी हुने विषयमा समेत छलफल भएको थियो ।
मुख्यमन्त्री आचार्यले नेपालको सामाजिक–आर्थिक रूपान्तरण, शिक्षा, स्वास्थ्य, पूर्वाधार, विपत् व्यवस्थापन तथा सुशासन सुधारमा संयुक्त अधिराज्यले निरन्तर गर्दै आएको सहयोगप्रति आभार व्यक्त गर्नुभयो । त्यसक्रममा बेलायत सरकारकी इन्डोप्यासिफिक मामिलामन्त्री सीमा मल्होत्राले बुद्ध जन्मस्थल लुम्बिनीको विकासबाट नेपालले ठुलो लाभ लिन सक्ने भएकाले यसतर्फ प्रदेश सरकारले गरिरहेको पहलप्रति आभार व्यक्त गर्नुभयो । उहाँले प्रदेश सरकारसँग आवश्यक सहयोग र सहकार्य गर्ने गरी अगाडि बढ्न बेलायत सरकार प्रतिबद्ध रहेको पनि त्यस अवसरमा जानकारी गराउनुभएको थियो ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij