Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौँ । नेपाली चलचित्रको निर्देशनमा करिब पाँच दशकदेखि निरन्तर योगदान पु¥याएको भन्दै अग्रज चलचित्र निर्देशक तुलसी घिमिरेलाई ‘दीर्घ साधना सम्मान २०८२’ बाट सम्मानित गरिएको छ ।
नेपाल चलचित्र निर्देशक समाजको १८ औँ वार्षिक साधारण सभा एवम् सर्जक अभिनन्दन समारोहको अवसर पारेर मंगलबार काठमाडौँमा आयोजित समारोहमा घिमिरेलाई सो सम्मान प्रदान गरिएको हो । चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डिसी, निर्देशक समाजका पूर्व अध्यक्षहरू युवराज लामा, लक्ष्मीनाथ शर्मालगायतले सो सम्मान प्रदान गरे।
सोही समारोहमा ‘हिरासिंह खत्री स्मृति सम्मान २०८२’ बाट निर्देशक किरण प्रधानलाई सम्मानित गरियो । यस्तै ‘निर्देशक समाज स्रष्टा सर्जक सम्मान २०८२’बाट अभिनेत्री एवम् निर्देशक रेखा थापा, निर्देशक तीर्थ थापा र निर्देशक बद्री अधिकारी सम्मानित भए ।
२०८२ सालको व्यावसायिक र कलात्मक रूपमा सफल चलचित्रका निर्देशकहरूलाई सोही समारोहमा ‘वर्ष निर्देशक’को अवार्ड प्रदान गरियो । यसरी वर्ष निर्देशकको अवार्डबाट पुरस्कृत हुनेहरूमा चलचित्र ‘अञ्जली’बाट निर्देशक मिलन चाम्स, चलचित्र ‘परान’बाट निर्देशक दीपकप्रसाद आचार्य, चलचित्र ‘पूर्णबहादुरको सारंगी’बाट सरोज पौडेल र चलचित्र ‘गुन्यु चोलो’बाट समुन्द्र भट्ट रहेका छन् ।
मुम्बईमा आफूले चलचित्र सम्पादन गरिरहेको बेला गुरुले नेपाल गएर चलचित्र निर्देशन गरे भनेपछि आफू नेपाल आएर चलचित्र निर्देशनमा निरन्तर लागेको निर्देशक घिमिरेल बताए । त्यसको परिणामस्वरुप आजको यो सम्मान ग्रहण गर्दा गुरुको निकै याद आइरहेको तुलसी घिमिरेले सो कार्यक्रममा बताए ।
नेपाली चलचित्रमा योगदान पु¥याउने अग्रज निर्देशकहरूलाई सम्मान र समकालीन रूपमा सफल चलचित्रका निर्देशकहरूलाई वर्ष निर्देशकको रूपमा अवार्ड प्रदान गर्दै आएको नेपाल चलचित्र निर्देशक समाजका अध्यक्ष जनक दीप पराजुलीले प्रकाश पारे । उनले तीन वर्षभित्र आफ्नो कार्यकालमा समाजबाट भएका कामको चर्चा पनि गरे । तीन वर्षीय कार्यकालको विवरण प्रस्तुत गर्दै अध्यक्ष पराजुलीले विभिन्न कारणले गर्दा सोचे अनुसारको काम यसपटक गर्न नसकेको भनाई राखे ।
निर्देशक समाजको यो अधिवेशनले तीन वर्षको लागि नयाँ कार्यसमिति चयन गर्नेछ । समाजको अध्यक्षमा वर्तमान अध्यक्ष जनक दीप पराजुली र वर्तमान महासचिव अरुण कुमार प्रधानले नयाँ कार्यसमितिको अध्यक्षका लागि उम्मेदवारी दिएका छन् ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij