Jun 04 2026 | २०८३, जेठ २१ गते
काठमाडौं । सिरहाको लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीमाथि सरकारी–ऐलानी जग्गा कब्जा गरेको आरोप लागेको छ । गत १६ वैशाखमा राष्ट्रिय सतर्कका केन्द्रले नगरप्रमुख चौधरीमाथि आएका उजुरी छानबिन गरी कारबाही गर्न प्रमुख जिल्ला अधिकारी सुरेन्द्र पौडेललाई निर्देशन दिइएको हो ।
केन्द्रका अनुसार चौधरीले सार्वजनिक–ऐलानी जग्गा कब्जा गरेको उजुरी परेको छ । केन्द्रमा पटकपटक उजुरी परेपछि गत बुधबार जिल्ला प्रशासन कार्यालय सिराहामा पत्राचार गरिएको थियो । प्रमुख जिल्ला अधिकारी पौडेललाई समेत केन्द्रले मौखिक जानकारी गराइएको उल्लेख छ ।
पौडेललाई केन्द्रले गरेको निर्देशनमा भनिएको छ, ‘के कसो भएको हो आवश्यक छानबिन तथा कारबाही गरी केन्द्रलाई जानकारी गराउनू ।’
प्रमुख जिल्ला अधिकारी पौडेलले आफू बाहिर रहेको हुँदा लहान नगरपालिकाका प्रमुखले सरकारी जग्गा कब्जा गरेको बारे बुझ्न बाँकी रहेको शिलापत्रलाई प्रतिक्रिया दिए ।
उता जिल्ला प्रशासन कार्यालय सिराहाका सहायक प्रमुख जिल्ला अधिकारी एवं सूचना अधिकारी चेतराज बरालले भने राष्ट्रिय सतर्कका केन्द्रबाट बुधबार नै पत्राचार भएको हुँदा तत्काल प्रक्रिया अघि बढेको शिलापत्रलाई जानकारी दिएका छन्।
बरालका अनुसार चौधरीले सरकारी–ऐलानी जग्गा कब्जा गरेको बारे छानबिन गर्न केन्द्रले पत्र पठाउने बित्तिकै उनलाई जानकारी गराइएको छ । यसबारे आन्तरिक छानबिन प्रक्रिया अघि बढेको भन्दै चौधरीलाई समेत केन्द्रको चासो बारे पत्राचार गरी अनुसन्धानमा सहयोग गर्न भनिएको उनले शिलापत्रलाई जानकारी दिए ।
बरालले २४ वैशाखका लागि बृहत् बैठक पनि राखिएको जानकारी दिए । जसअनुसार जिल्लाभित्रका विभिन्न सरकारी एवं सार्वजनिक जमिन मिचेर बनाइएका संरचनाको लगत संकलन गरी तुरुन्त हटाउने अभियान सुरुवातका लागि उक्त बैठक डाकिएको हो । जसमा नगरप्रमुख, जिल्लाका सरोकारवाला निकाय, नापी एवं मालपोत कार्यालय प्रमुख र सुरक्षा अंगका प्रमुखहरूलाई डाकिएको छ ।
‘सार्वजनिक जमिनको अतिक्रमण हटाउन अभियानकै रूपमा लाग्ने निर्णय भएको छ । सोही अनुसार हाम्रो जिल्लामा पनि प्रक्रिया अघि बढेको हो ।’ सहायक प्रमुख जिल्ला अधिकारी बरालले भने । यता सरकारी जग्गा कब्जा गरेको आरोप लागेका लहान नगरपालिकाका प्रमुख महेशप्रसाद चौधरीलाई भने पटकपटक टेलिफोन सम्पर्क गर्न खोज्दा उनको अफिसियल नम्बरमा सम्पर्क हुन सकेन ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij