Jun 05 2026 | २०८३, जेठ २२ गते
काठमाडौँ । रुपन्देहीको देवदह नगरपालिका-१० भलुही गणेशनगरस्थित प्रतीक्षालय नजिक माइक्रो बस र ईभी माइक्रो ठोक्किँदा दुईजनाको मृत्यु भएको छ । दुर्घटनामा २५ जना घाइते भएका छन् ।
बुटवलबाट बर्दघाटतर्फ जाँदै गरेको लु १ ख ७२८५ नम्बरको माइक्रो बस र नारायणगढबाट बुटवल आउँदै गरेको बागमती प्रदेश ००ख ८९२८ नम्बरको ईभी माइक्रो ठोक्किएको प्रहरीले जनाएको छ । घाइतेमध्ये दुई जनाको उपचारका क्रममा मृत्यु भएको हो ।
उनीहरूको साथमा भएको कागजअनुसार पदम रायमाझी र रानीकुमारी खत्रीको मृत्यु भएको प्रहरीको भनाइ छ । ठेगाना भने खुलेको छैन ।
त्यस्तै पाल्पाको नुवाकोटबाट बुटवलतर्फ आउँदै गरेको स्कुटर दुर्घटना हुँदा दुई युवतीको मृत्यु भएको छ । प्रहरीका अनुसार लु ३४ प ५७६६ नम्बरको स्कुटर ओरालोमा अनियन्त्रित भई भएको दुर्घटनामा कपिलवस्तु बाणगंगा नगरपालिका-७ की १९ वर्षीया निशा कुँवर र बुटवल उपमहानगरपालिका-११, कालिकानगर रामपथकी १८ वर्षीया पूर्णिमा मगरको मृत्यु भएको छ ।
स्कुटर चालक कपिलवस्तु बाणगंगा-७, बनगाईका सोमन श्रेष्ठ गम्भीर घाइते भएका छन् । एउटै स्कुटरमा तीन जना सवार रहेको र मंगलबार साँझ दुर्घटना भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घाइते चालकको उपचार भइरहेको छ ।
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij
© 2026 All right reserved to onlinepatrika.com | Site By : Sobij